लगातारको बर्षाले कैलालीको पूर्वी क्षेत्र डुबानमा

1207
views

सुखड,१४ साउन । गयराती देखिको लगातारको बर्षाले कैलालीको पूर्वी क्षेत्र जलमग्न भएको छ ।

रातभर परेको अविरल वर्षाका कारण कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी, जोशिपुर गाउँपालिका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । अविरल वर्षाका कारण मोहना, पथरैया, काँढा नदीको पानी गाउँमा पसेको हो ।

कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काडा नदी गाउँ परेपछि २५ घर डुवानमा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुवानमा परेका छन्। काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढि घरमा डुवान भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए । कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुवानमा परेका छन् ।
हाल कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी बर्षा भईरहेको र थप बर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधर लगायतका नदीमा आकस्मिक बाढी आउने खतरा भएको समेत मौसम विभागले जानकारी दिएको छ ।