कालीकोटमा पहिरोमा परि थप चारको मृत्यु

1269
views

कालिकोट ।
कालिकोटमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाउँपालिकामा दुई जना र सान्नीत्रिवेणी गाउँपालिकामा दुई जना गरी चार जनाको मृत्यु भएको हो ।

योसँगै जिल्लामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । महावै गाउपालिकाको वडा न। ७ कोडबाडामा घर भत्किदा दुई जना बालबालिकाको ज्यान गएको छ ।

बुधबार बेलुका महावै गाउपालिका वडा न। ७ का तुल महतराको घर बर्षाका कारण भत्कीएपछि दुई जना बालबालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी यक्षराज जोसीका अनुसार ज्यान गुमाउनेहरुमा स्थानीय टेकबहादुर भण्डारीकी चार बर्षिया छोरी संगिता भण्डारी र सुर्ज महतराको १२ बर्षिय छोरा गणेश महतराको घर भित्रै पुरिएर मृत्यु भएको हो ।

पानी परिरहेको अवस्थामा स्थानीय ६ जना बालबालिकाहरु तुल महतराको घरमा खेली रहेका थिए । त्यही बेलामा माथिबाट ढुंगा खसेर घर भत्किएको हो । अरु चार जना बालबालिका घाईते भएका छन । उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको छ ।

यस्तै सान्नीत्रिवेणी गाँउपालिका वडा नं। ६ स्थित लाटे खोलामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । लाटेखोलाको पहिरोमा सान्नीत्रिवेणी गाँउपालिका वडा नं। ६ का ६० बर्षिया प्रशुराम संज्याल र २८ बर्षिया तारा संज्यालको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलीयाले बताए ।

उनका अनुसार स्थानीय प्रशुराम संज्याल खानेपानीको लाइन जोड्नका लागि खोलापारी गएको र तारा संज्याल खोला पारी रहेको गोठमा गाईबस्तुलाई घाँस पानी दिन गएर फर्किने बेलामा पहिरो पुर्दा दुवै जनाको मृत्यु भएको हो ।

यससँगै बाढी र पहिरोमा परी कालिकोटमा १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार जिल्लाको नरहरीनाथ गाँउपालिकामा सबै भन्दा बढी नौ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । यस्तै रास्कोट नगरपालिकामा एक जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन् ।