फुटको संघारमा नेकपा, सांसद तानातान

478
views

काठमाडौं, २२, साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र वार कि पारको लडाईं शुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी फुटबाट जोगाउन अन्तिम प्रयास हुने भएपनि त्यसले सकारात्मक परिणाम निकाल्ने सम्भावना न्यून बन्दै गएको छ ।

ओलीलाई सत्ताबाट हटाइछाड्ने अडानमा प्रचण्ड देखिएका छन् भने ओली कुनै हालतमा सत्ताबाट नहट्ने अडानमा छन् । यसरी दुई नेताहरुको टकरावले फुटको संघारमा नेकपा पुगेको छ ।

सम्भावित दुर्घटनालाई दृष्टिगत गरी ओली र प्रचण्ड आ–आफ्नो तयारीमा जुटेका छन् । हिजो प्रचण्डले फुटको संकेत गर्दै मानसिकता तयार गर्न भनेका थिए । लगत्तै आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सचिवालयका चारजना प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई ग्याङ अफ फोरको संज्ञा दिदै विदेशीको इशारामा नेकपा बिघटनमा लागेको आरोप लगाएका छन् ।

उनले चार नेताबीच पदहरुको आकांक्षा र उद्देश्यसहित फुटाउन लागेको टिप्पणी गरे । यसबाट पनि नेकपा अब फुटको संघारमा पुगेको अनुमान हुन थालेको छ । नेकपाभित्र यतिबेला सांसद तानातानको अवस्था छ । अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल पक्षका सांसदहरुलाई आकर्षित गर्न निकटस्थलाई परिचालन गरेका छन् । उक्त पक्षको दाबी अनुसार दुवै पक्षका गरी २० जना सांसद ओली पक्षमा पुगेका छन् ।

ओली संसदीय दलमा स्पष्ट बहुमतमा रहेको दाबी गरिएको छ । तर, प्रचण्ड र माधव नेपाल पक्षधरका सांसद यताउता नहुने भन्दै उक्त पक्ष ढुक्क छ । तर, बहालवाला मन्त्रीहरु रामबहादुर थापा बादल र लेखराज भट्ट र माधव नेपाल पक्षका दोस्रो पुस्ताका केही नेताहरु ओली पक्षमा पुगेका छन् । तर, ओलीसँग असन्तुष्ट केही सांसदहरु पनि प्रचण्ड र ओलीसँग नजिकिदैछन् । यसरी दुवै पक्ष सांसद तानातानमा सक्रिय भएका छन् ।

पार्टी फुटको अवस्थामा पुगेमा नेकपाभित्र ओली पक्षको योजना अनुसार बामदेवलाई कार्यवाहक अध्यक्ष बनाउने र काँग्रेससँग मिलेर जानेसम्मको ओलीको तयारी देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि विगतमा प्रचण्डले धोका दिएको भन्दै देखाइदिने सुर कसेका छन् । देउवासँग ओली ढुक्क छन् । प्रचण्डले चाहेर पनि पार्टी फुटाउन नसक्ने भएकाले उनी ओलीलाई कारबाहीको निर्णय गरेर जाने तयारीमा छन् । त्यसपछि विकसित हुने घटनाक्रमले अध्यादेशमार्फत् राजनीतिक दलसम्बन्धी ऐनमा परिमार्जन भई फुटको अवस्था सृजना हुनसक्ने देखिएको छ ।