फरार अभियुक्त पक्राउ

586
views

जितेन्द्र थापा
सुर्खेत, २३, साउन । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहत विभिन्न जिल्ला प्रहरी कार्यालयहरुबाट सम्मानित अदालतबाट फैसला कार्यान्वयनको क्रममा फरार भएका अभियुक्तहरु पक्राउ परेका छन् ।

पक्राउ परेका अभियुक्तहरुलाई सुर्खेत अदालतमा पेश गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।

यसैबिच जिल्ला प्रहरी कार्यालय सल्यानद्वारा पक्राउ गरीएका फरार अभियुक्तहरुलाई पनि अदालतमा पेश गरिएको छ ।

अभद्र ब्यवहार मुद्दाका १ जना फरार अभियुक्तलाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाईएको र अभियुक्तबाट ३ महिना कैद र पाँचहजार रुपैयाँ जरिवाना असुल गरिएको सल्यान प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा चारजना फरार अभियुक्तहरु पक्राउ परेका छन् ।

बहु विवाह मुद्दाका एकजना र कुटपिट, लुटपिट मुद्दाका तीनजना गरी चारजना फरार अभियुक्तलाई पक्राउ गरी रुकुम (पश्चिम) जिल्ला अदालतमा बुझाईएको र उनीहरुबाट १५ दिन कैद र २६ सय रुपैयाँ जरिवाना असुल गरिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगु र दैलेखमा पनि विभिन्न मुद्दाका फरार अभियुक्तहरु पक्राउ परेका छन् ।

मुगुमा लागु औषध मुद्दाका १ जना फरार अभियुक्तलाई पक्राउ गरी मुगु जिल्ला अदालतबाट ११ महिना ८ दिन कैद असुल गरेको मुगु प्रहरीले जनाएको छ भने दैलेखमा वन मुद्दामा फरार एकजना अभियुक्तलाई पक्राउ गरी दैलेख जिल्ला अदालतबाट ८ दिन कैद र ३३ हजार ६ सय रुपैयाँ असुल उपर गरेको छ ।