काठमाण्डौ उपत्यकामा १ हजार बढी कोरोना संक्रमित

512
views

साउन, २५, काठमाण्डौ । शुक्रबार एकै दिन काठमाण्डौ उपत्यकामा १ सय ६ जना नयाँ संक्रमित थपिएका थिए । यो संख्या अहिलेसम्मकै धेरै हो । आज उपत्यकामा ६२ जना संक्रमित थपिए । योसँगै अहिलेसम्म उपत्यकामा संक्रमितको संख्या १ हजार ४४ जना पुगेको छ ।

त्यसभध्ये काठमाडौंमा ८ सय २२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ जना रहेका छन् । कूल संक्रमितमध्ये करिब ७ सय जनाको उपचार भइरहेको छ भने बाँकीको उपचार सफल भएको छ ।

संक्रमितमध्ये ६० प्रतिशतभन्दा धेरै काठमाण्डौ उपत्यकाबाहिरबाट आएका थिए । अधिकांश प्रदेश नम्बर दुईबाट र केही भारतबाट आएकासमेत संक्रमित भएका छन् ।

अझै डरलाग्दो पक्ष त के छ भने संक्रमितमध्ये २५ जनालाई मात्र अस्पतालको आइसोलेसनमा पठाइएको छ । बाँकीमध्ये कोही घरमै छन् भने कतिपय सम्पर्कबाहिर छन् ।

जसका कारण संक्रमण थप फैलिने त्रास बढेको छ । लकडाउन हटेयता लक्षणसहितको संक्रमितको संख्या पनि बढेको छ । साउन १ देखि १२ गतेसम्म उपत्यकामा दिनहुँ १६ जनाभन्दा कम संक्रमित थपिएका थिए । साउन १३ मा एकै दिन ६१ जनामा संक्रमण पुष्टि भएको थियो ।

दिनमा ५० जनाभन्दा बढी संक्रमित थपिन थालेपछि आइसोलेसनमा राख्ने शय्याको अभाव हुन थालेको हो । सरकारले काठमाडौंसहित ६ वटा जिल्लालाई जोखिमयुक्त जिल्लाको सूचिमा राखेको छ । उपत्यकाका तीन जिल्लाका करिब १ सय ४० स्थानमा कोरोना संक्रमण पुष्टी भएको हो ।

काठमाण्डौका मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलाई सिल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलगायत व्यापारिक केन्द्र सिल गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भइरहेको हो ।

उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन ।