सामन्ती सत्ता टिकाउने हिजोका पुर्खा चलनकै निरन्तरता कहिलेसम्म ?

1516
views

–पशुराम कोइराला
जे होस्, मनुस्मृतिका सर्जक मनु ऋषि, उनका समकालीन र वैदिक धर्मका पुनरुत्थानकर्ता शङ्कराचार्य लगायत हिजोका हाम्रा पुर्खाहरू बाठै हुन् । ज्ञानकै स्रोत मानिने वेद आादि र कर्मकाण्डीय अन्य शास्त्रहरूलाई शासकहरूलाई नै बलियो बनाउन शासकसंग मिलेरै भएपनि हाम्रै पुर्खाले लोकप्रिय बनाए । भारतीय भूमिबाट आर्य सभ्यताका नाममा आर्यहरुमै विभेद हुने गरी हाम्रा धेरैजसो पुर्खाहरूले विश्वास गरेका ,चलाएका र भोगेका चलन परम्परामा विज्ञान थिएन । समाज र समसामयिकता थिएन । बाँचुन्जेलका लोक समाजका यथार्थ जेजस्तो भएपनि मरेपछिका परलोक र भाग्यआदिमा विश्वास थियो । पूर्व र पश्चिम दुवैतिर आस्तिक र नास्तिक बीचका मतभेद र सांस्कृतिक लडाईं चल्दै आएका पनि हुन् । बिचित्रका कुरा, आज पनि भौतिकवादी र द्वन्द्वात्मक भौतिकवादी हुनुपर्नेहरू पनि आस्तिक देखिएकै छन् । जनशक्तिमा विश्वास नगरी सत्तारोहण शुरूमै समाजलाई नै ईश्वरीय आस्था जागृत गर्ने गराउने गरी ईश्वरका नाममा पूजा गर्ने, कसम खाने सामन्ती कालका चलन निरन्तरता पनि देखिएकै छ ।

प्रजनन प्रक्रियाका उपजबाट जन्मने सन्तानलाई समेत ईश्वरका बरदान बुझ्नेहरू खोज्न पनि हाम्रै समाजलाई हेरे पुग्छ । जस्तोसुकै बदमासी गर्ने र घुसै खाने अपराधी भएपनि ईश्वरलाई भाग छुट्याए पुजेपछि मानिसले मुक्ति पाउने नियम पनि हाम्रै टाठाबाठा पुर्खाले बनाए । हिन्दू धर्मशाखाका रुपमा बुद्धलाई ईश्वरका नवौं अवतार सहित स्थापित गरिदिए पनि वुद्धधर्म हिन्दूजस्तो अन्धविश्वास मान्ने पत्याउने धर्म थिएन । दर्शनका अर्थ ,विचार दृष्टिकोण हो । प्रकृति, ज्ञान, विज्ञान, वस्तु, आदि बुझ्ने भनेका चेतनाले हो । परिवर्तनका लागि पनि चेतना चाहिन्छ ।कपिल,कर्णाद,गौतमहरु जत्तिका सोचहरू पनि अहिलेका आधुनिक भनिने धेरैमा खासै देखिएन ।

मानिस पहिलो कि ईश्वर ? मानिसले ईश्वर बनायो कि ईश्वरले मानिस बनायो ? गुरुका चाकडी, परलोक शिक्षा , दान,दक्षिणा,अनेक देवताहरुका स्थापना, पूजापाठ, स्तुति, भजन गरेपछि ईश्वर खुशी भएर क्षमा रक्षा गर्छन् का सोंचमा पूरै समाजलाई पत्याइ रहने बनाउनुमा हाम्रा पूर्वजहरुका विशिष्ट क्षमतालाई मान्नैपर्ला ठानौंला वा नठानौंला । रहष्य पत्ता नलागेका प्रकृति, सूर्य, चन्द्र, आकाश, पानी, बायु आदिलाई ईश्वर वा देवता मान्ने र सामन्त शासकहरूलाई ईश्वरका अङ्ग देख्ने बनाउन र कुटिलतापूर्वक मध्यस्त भूमिका निभाउनमा ऋषिमुनिकाल अर्थात पुराणकालदेखिकै ब्राह्मणभूमिकाले थिच्दै आएका देखिन्छन् । भनेका नमान्ने र वेदका सत्ता, ईश्वर, धर्म नमान्नेलाई राक्षस बनाउने चलन पुरानै हो । कुनैबेला सामन्तका सत्ता टिकाउन ब्राहमणमार्फत निर्मित चलनहरूलाई परम्परा ठान्ने प्रचलन पनि लोकतान्त्रिक भनिएको शासनसम्म ज्युँदै छ । अज्ञानता र भ्रम सिर्जना नगरेका भए सामन्तहरूका सत्ता लामो समय टिक्ने पनि थिएन ।

बुद्धले ईश्वर, आत्मा, पाप, पुण्य आदिलाई मानेनन् । चार्वाक ईश्वर, आत्मा, पुनर्जन्म, स्वर्ग, अन्धश्रद्धा आदि मान्दैनन् । पूजा, कुनै दुखकष्ट विपत्तिका बेला तीर्थ, व्रत र धर्मका नाममा आममानवले युगौंयुगसम्म पत्याउने गरी ईश्वर जोडिदिने पुनर्जन्म, ईश्वरवाद र धर्मशास्त्र परम्पराले वर्ग समाज जन्माउने साँचो हो । अज्ञानता भन्दा ठूला समस्या अर्को हुँदैन । परम्पराका गलत कुरा छोड्नुका सट्टा अझै पनि मन्दिर बनाउने सोच बोक्नेहरु आधुनिकता र विज्ञानविरोधी भएपनि सर्वत्र बर्चस्व तिनैका छ । राज्यले सहयोग गरेकै छ । लोकसमाज बाहिरका अदृष्य कुरा पत्याउने र मानव र मानव श्रमउपज यथार्थलाई नपत्याउने आस्तिकहरूका तुलनामा नास्तिकहरूका चिन्तनमा विज्ञान र व्यवहारिकता छ र पनि पुरातनमुखी राज्यसोचका परिणाम कर्मकाण्डीय अफिमबाट समाज उम्कन सकिरहेको छैन । पदार्थ नै ईश्वर कि निराकार अनन्त ? सामन्तहरूले आफ्ना सत्ता बलिया बनाउन सिर्जना गरेका पुनर्जन्म र चौरासी योनीका अवधारणा पनि समाजवादी पक्षधरहरूले पत्याएकै छन् । पश्चिममा ग्रीस सभ्यता र दर्शनका इतिहासहरू लेखिदा पूर्वीय दर्शन, संस्कृतिका सुन्दर पक्षहरूका इतिहास लेख्नै बर्जित गरेका कर्मकाण्डी सोचबाट एक्काइसौं शदीका बहुसंख्यक मानव चेतलाई कैद गरिरहेकै छ । अनेक जातिसम्प्रदाय ,धर्म संस्कृतिका साझा फुलवारीमा धर्मनिरपेक्षताका ओेचित्य पुष्टि गर्न पनि सदनबाटै के यी विषयमा अझै पनि लोकतान्त्रिक राज्यले सोच्नु पर्दैन ? पोखरा