गोंगबु हत्याः अनुसन्धानबाट खुलेको तथ्य

834
views

काठमाडौं, २७, साउन । प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ । साउन २५ गते काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो ।

प्रहरीले शव पहिचानपछि अनुसन्धानका क्रममा हत्यामा संलग्न आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

प्रहरीले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा गरेको पत्रकार सम्मलनमार्फत हत्यामा संलग्न मुडभरीलाई सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त अनुसन्धानबाट विभिन्न तथ्यहरु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक ४५ वर्षीय कृष्णबहादुर रोल्पा रम्तीगढी ७ सतिमका हुन् । अभियुक्त ३७ वर्षीया कल्पना चितवन कालिका नगरपालिका ७ घर भएर अहिले टोखा नगरपालिका १० नवज्योती मार्गमा बस्दै आएकी हुन् ।

उनी पेशाले गृहिणी हुन् । उनले केही टेलिशृङ्खलामा अभिनयसमेत गरेको प्रहरीले खुलाएको छ । कल्पनालाई प्रहरीले साउन २६ गते चितवन कालिका नगरपालिका ९ शक्तिखोरस्थित माइती घरबाट पक्राउ गरेको हो । घटनामा संलग्न उनकी १५ वर्षीया छोरीलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानबाट खुलेका तथ्य
प्रहरीका अनुसार मृतक र अभियुक्त करिब तीन–चार वर्षदेखि चिनजान र सम्पर्कमा थिए । उनीहरु फेसबुकमार्फत् चिनजान भएर भेटघाट गर्दै आएको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए ।

मृतक कृष्णबहादुर अभियुक्तको कोठामा बेला बेलामा पुग्ने र भेट्ने गरेका थिए । मृतकले अभियुक्तको फोटो राखेर फेक फेसबुक आईडी खोली चलाउने गरेको अभियुक्तले बयानमा उल्लेख गरेकी छन् । फेक फेसबुकबाट आफू अनुकूल चल्नको लागि निरन्तर दबाब दिइरहेकोसमते उनले प्रहरीसँगको बयानमा बताएकी छन् ।

प्रहरी अनुसन्धानबाट मृतक घटनाको दिन आफू बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा पुगेको खुलेको छ । उनी कोठामा पुगेपछि अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन् ।

चिउरा, मासु र भोड्कासँगै अभियुक्तले दहीमा पाँचवटा निन्द्राको औषधि मिलाई खाना दिएकोसमेत बयानमा उल्लेख गरेकी छन् ।

निन्द्रालाग्ने औषधि खाएपछि मृतक लठ्ठ परेर सुतेको मौकामा अभियुक्तले फलामको मारतोल (ह्याम्मर)ले अण्डकोषमा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ह्याम्मरको प्रहारपछि सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकिन गरेको प्रहरी बयानमा अभियुक्तले स्वीकार गरेकी छन् ।

अभियुक्तले मरेको यकिन भएपछि धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखेर आफैंले फालेको स्वीकार गरेकी छन् । उनले शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखेर बाटो नजिकै फालेर फर्किएको बताएकी छन् ।

अभियुक्त कसरी पुगिन् चितवन
कृष्णबहादुरको हत्यापछि अभियुक्त एम्बुलेन्समा चढेर चितवन पुगेको खुलेको छ । उनले चिनजानको एम्बुलेन्स चालकलाई फोन गरेर चितवन गएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी अनुसन्धानबाट अभियुक्तलाई छोरीलेसमेत शव व्यवस्थापनमा साथ दिएको खुलेको छ । अन्नपूर्ण पोष्ट डटकमबाट