कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइसकेको राष्ट्रपति पुटिनको दाबी

428
views

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइसकेको दाबी गरेका छन् । बीबीसीका अनुसार मंगलबार सरकारका मन्त्रीहरुलाई सम्बोधन गर्दै उनले भने, ‘आज विहान कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सिन दर्ता भइसकेको छ ।’ पुटिनले यो खोप मानिसहरुमा दुई महिनासम्म परीक्षण गर्दा पूर्ण सुरक्षित पाइएको र सबै सुरक्षा मापदण्डमा खरो उत्रिएको बताएका छन् ।

यो भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । अब रुसले चाँडै ठूलो संख्यामा आम मानिसहरुलाई यो खोप दिने तयारी गरिरहेको छ । यद्यपि रुसले जुन गतिमा भ्याक्सिन बनाएको दाबी गरेको छ, त्यसप्रति विश्वका धेरै वैज्ञानिकले चिन्ता पनि व्यक्त गरेका छन् ।

तर, रुसका राष्ट्रपपित भ्लादिमीर पुटिनले सरकारी टेलिभिजनमा सम्वोधन गर्दै गेमालेया इन्स्टिच्यूटमा विकसित यो भ्याक्सिन पूर्ण सुरक्षित रहेको र आफ्नी छोरीले उक्त भ्याक्सिन लगाएको बताएका छन् ।

पुटिनले भने, ‘म विश्वस्सत छु, यो खोप संक्रमण निर्मूल पार्न निकै उपयोगी हुनेछ । यसले प्रतिरोधि क्षमतालाई बलियो बनाउँछ र, म फेरि दोहोर्‍याउँछु यसले सबै मापदण्ड पूरा गरेको छ ।’ उनले चाँडै यो खोप ठूलो परिमाणमा उत्पादन गरिने पनि बताएका छन्।