पञ्चकोशी माविमा राखिएको राहत चामल कुहियो

954
views

महेन्द्र जिसी
पर्वत, २८, साउन । कुश्मा नगरपालिकाको वडा नं १४ मा लकडाउनमा वितरण गर्ने भनि आएको राहत दाल, चामल, तेल वितरण नै नगरी कुहिएको छ ।

राहतका लागि पठाइएको २५ बोराजति चामल र अन्य खाद्यान्न वितरण नै नगरी कुहिएको स्थानीय रुद्रमोहन रिमालले बताए ।

कुश्मा नगरपालिकाले लकडाउनका कारण खाद्यसंकट परेकाहरुलाई दाल, चामल, तेल लगायतका खाद्यान्न सामाग्री वितरण गर्ने गरी राहत कोषमा जम्मा भएको रकम मार्फत प्रतिवडा वडा चारलाख रुपैयाँ पठाएको थियो । सो रकमबाट खरीद गरिएको राहत सामाग्रीहरु कुहिएको हो ।

आर्थरको पञ्चकोशी माविमा राखिएको राहत कुहिएर गयो तर लकडाउनको समस्यामा परेकाहरुले भने राहत नपाएको स्थानीयको गुनासो छ ।

नगरपालिकाले प्रत्येक वडाले उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रतिवडा चारलाख बराबरको राहत पठाइएको तर वडाले के कसरी वितरण गरेका छन् भन्नेबारे कुनै जानकारी नआएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले वडामा पठाएको राहात सामानको जिम्मा वडा कार्यालयले नै जिम्मा लिएको तर राहातका लागि पठाइएको खाद्य सामाग्री कुहिएको सूचना आउनु गलत भएको बताए ।

सो वडाका वडा अध्यक्ष भिमप्रसाद गुरुङले भने यसबारेमा जानकारी लिन खोज्दा कुनैपनि प्रतिक्रया दिन चाहेनन् ।