कोरोना जोखिमले जारी निषेधाज्ञा तीनदिन थपियो

537
views

बर्दिया । कोरोना भाइरसको जोखिम बढेसँगै बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ । बिहीबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन ३२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि गत आइतबारदेखि जिल्ला प्रशासन कार्यालय बर्दियाले पहिलो चरणमा पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जोखिमयुक्त क्षेत्रमा परिक्षणको दायरा बढाउन तत्काल एक हजार थान भिटिएम आवश्यक भएकाले प्रदेश ५ सरकारसँग भिटिएम किट माग गर्ने निर्णय समेत गरेको छ ।

यस्तै, गुलरियास्थित मुक्तिनाथ विकास बैंक र बढैयातालस्थित सिटिजन्स बैंकका कर्मचारीमा कोरोना देखिएकाले दुवै बैंकका कर्मचारीहरुको तत्काल पिसिआर परीक्षण गराउने र त्यसको नतिजा प्राप्त नहुँदासम्म बैंक सिल गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताए ।

हिन्दू नारीहरुको पर्व हरीतालिका तिज समेत नजिकै आएकाले तिज पर्व आ–आफ्नै घरभित्र रही स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन समेत अनुरोध गर्ने निर्णय भएको जनाइएको छ।