कोरोना भाइरसका कारण पत्रकारलाई मनोवैज्ञानिक तथा आर्थिक रुपमा गम्भीर असर

328
views

काठमाडौं । कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक तथा आर्थिक रुपमा गम्भीर असर परेको एक अध्ययनले देखाएको छ।

नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्य स्थित बर्नमोथ विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणमा पत्रकारलाई मानसिक असर पर्दा सञ्चार माध्यमका सामग्री उत्पादनमा ह्रास आएको देखाएको छ। बुधबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार सो अवस्था देखिन आएको हो।

नेपाल प्रेस इन्स्टिच्युटले २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सातै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारबीच गरेको सो सर्वेक्षणले अधिकांश पत्रकारको मानसिक स्वास्थ्यमा असर पुगेको उल्लेख गरेको छ।

उक्त सर्वेक्षणमा सहभागी पत्रकार मध्ये ८३ प्रतिशतले जोखिमको अनुभूति बढेको, ७५ प्रतिशतले चिन्ताबढेको र ६२ प्रतिशतले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएको बताइएको छ। २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन्’, इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ। महाव्याधिले छापा माध्यममा काम गर्ने ५५ प्रतिशत पत्रकारले छापाले पृष्ठ घटाएको बताएका छन्।

रेडियोमा कार्यरत ५१।८ प्रतिशत र टेलिभिजनमा काम गर्ने ४२।५ प्रतिशत उत्तरदाताले सामग्री उत्पादनमा कमी आएको बताएका छन्। प्रतिवेदन आजै मन्त्री युवराज खतिवडाले सार्वजनिक गरेका हुन् ।