पछिल्लो पटक कोरोना संक्रमणबाट नेपालमा १० जनाको मृत्यु

337
views

काठमाडौं । पछिल्लो पटक कोरोना संक्रमणबाट नेपालमा १० जनाको मृत्यु भएको छ।

यद्यपी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले मन्त्रालयले भने तीन जनाको मात्रै पुष्टि गरेको छ। आइतबारको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पर्सा र सर्लाहीमा १–१ जना महिला र झापामा एक पुरुषको मृत्यु भएको जानकारी दिएको छ।

यो बाहेक लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दुई, भक्तपुरमा १, चितवनमा १, सुनसरीमा १, धनुषामा १ र विराटनगरमा १ जनाको मृत्यु भएको भने मन्त्रालयले पुष्टि गरेको छैन। झापाको दमक नगरपालिका वडा नम्बर १ का पुरुषको काठमाडौंस्थित ह्याम्स हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।

विराटनगरमा पत्थरीको शल्यक्रिया पछि उनलाई काठमाण्डौ ल्याइएको थियो। यसैगरी, सर्लाहीको लालबन्दीकी ३३ वर्षीया महिलाको काठमाडौंको ओम अस्पतालमा मृत्यु भएको हो। एक साताअघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई उपचारका लागि चितवनको भरतपुर लगिएको थियो । तर त्यहाँ भर्ना लिन नमानेपछि काठमाडौं ल्याइएको थियो।

उपचारकै क्रममा उनको स्वाब संकलन गरिएको थियो। यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ। गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिला र सम्मरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

उनीहरुको भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको हो। दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित बुटवलकी महिलामा स्वास प्रश्वासमा समस्या देखिएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।

त्यस्तै भदौ १ गते अस्पताल ल्याइएका सम्मरीमाइका पुरुषमा पनि स्वासप्रश्वासमा समस्या थियो। योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ। यसैगरी, चितवन भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ का ६५ वर्षीया महिलाको मृत्यु भएको छ। महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर, रिपोर्ट नआउँदै महिलाको मृत्यु भएको हो।

भक्तपुरको दुधपाटी स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत बुटवलका एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार दिउँसो २ बजे उपचारका क्रममा मृत्यु भएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। मृगौलाका बिरामी उनलाई डाइलाइसिस गर्न अस्पताल ल्याएको थियो। यसै गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका ६८ वर्षीय पुरुषको निधन भएको छ। मधुमेह र उच्च रक्तचापका बिरामी रहको उनीमा साउन २९ गते कोरोना रिपोर्ट पोजेजिभ आएको थियो । उनको आइतबार साँझ निधन भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

यस्तै धनुषामा मत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। जनकपुरधाम उप महानगरपालिका–२० रुपैठाका ५८ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए। उनका अनुसार गत भदौ ३ गते ती पुरुषको स्वाब संकलन गरिएको थियो। तर ४ गते नै मृत्यु भएको र ६ गते उनको रिपोर्ट पोजेटिभ आएको हो। त्यसै गरी कोरोना भाइरसको संक्रमणबाट मोरङको विराटनगर महानगरपालिकामा थप एक पुरुषको मृत्यु भएको छ। विराटनगर ८ का ६५ वर्षीय पुरुषको कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिए। उनले भने, ‘आइतबार साँझ मृत्यु भएको अबको केहीबेरमा सबै डिटेल सार्वजनिक गछौं।ु योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ।