अलपत्र कालीगण्डकी करिडोरको फलेबास–अर्मादी खण्डको ट्रयाक ओपन शुरु

1000
views

पर्वत, ९, भदौ । पर्वत जिल्लाको ‘लाइफलाइन’ को रुपमा मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डको फलेबास देखि अर्मादीसम्म अलपत्र रहेको ट्रयाक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ ।

दुई बर्ष अघि नै ट्रयाक खुलिसक्नुपर्ने सडकको काम भदौ सम्म सक्ने गरि शुरु भएको हो । सडक निर्मााणको जिम्मा लिएको सुर्य कन्ट्रक्सन कम्पनीले भदौ भित्रै सडकको ट्रयाक ओपन सक्ने गरि काम शुरु भएको कालीगण्डकी करिडोर गाईघाट–मालढुंगा आयोजना कार्यालयले जानकारी दिएको छ ।

करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमि सडक मध्ये झण्डै २ सय मिटर मात्रै भिरमा ट्रयाक ओपनको काम बाँकी छ । अर्मादी – फलेबास खण्डमा मोदीबेणीघाट नजिक १ सय ५० मिटर र मोदीखोलाको पुलपारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । ‘भदौ महिनाभित्रै ट्रयाक खोलिसक्ने गरि मोदी वारी र पारीबाट काम शुरु गरेका छौ’ निर्माण कम्पनीका प्रतिनिधी दिपक रैसवालले भने ।

२०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो ।

करिडोरको पर्वत देखि स्याङ्गजाको मिर्मी खण्डमा लामो समय देखि काम अलपत्र थियो । करिडोर कार्यालयका साइड इन्र्चाज इन्जिनियर अर्जुन नेपालीका अनुसार पर्वतको अर्मादी देखि स्याङ्गजाको सेतीबेणी सम्मको ५३ किमि मध्ये मिर्मी देखि सेतीबेणी सम्मको ७ किमीमा सडक कालोपत्रेको टेण्डर भैसकेको छ भने सेतीबेणी देखि रानीपानी सम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भैरहेको छ । रानीपानी देखि फलेबास सम्मको २२ किमीमा स्तरोन्न्तीको काम सकिएको छ ।