बेनीमा निशुल्क शुद्ध खानेपानीको व्यवस्था

577
views

बेनी, ३, असार । बेनी नगरपालिका–७ को बिरेन्द्रचोक टोल सुधार समितिले सार्वजनिक स्थलमा निशूल्क शुद्ध खानेपानी सुबिधाको व्यवस्था मिलाएको छ । टोल सुधार समितिको सक्रियतामा जिल्ला प्रशासन कार्यालय अगाडीको पिपल चौतारी परिसरमा निर्माण गरिएको सार्वजनीक खानेपानी धाराको शनिबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।
बटुवाहरुको सुबिधाका लागि टोल सुधार समितिले स्थानीय बासिन्दा र संघ संस्थाबाट चन्दा संकलन गरेर एक लाख ९५ हजार ४३ रुपैयाँको लागतमा युरो गार्ड जडान भएको टंकी र धारा मार्फत खानेपानी उपभोग गर्ने व्यवस्था मिलाएको हो । कार्यक्रममा प्रजिअ पौडेल, मेयर श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र वडा न. ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बिरेन्द्रचोक टोल सुधार समितिले सर्वसाधारणको खानेपानी सुबिधा र टोलको सरसफाईका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठको अध्यक्षता, सचिव लालबहादुर थापाको सञ्चालन र सदस्य कुलप्रसाद श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पुष्पा पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बिरेन्द्रचोक टोल सुधार समितिले प्रत्येक शनिबार सार्वजनिक स्थलको सरसफाईका साथै विभिन्न सामाजिक गतिबिधिमा सक्रिय हुदै आएका छन् ।