रथलाई सांकेतिक रूपमा तान्ने र खटमा राखेर बुङमती पुर्‍याउने सहमति

760
views

काठमाडौं, १९, भदौ । कोरोनाका कारण प्रभावित रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रूपमा पूरा गर्ने सहमति भएको छ । बिहीबार साँझ भएको गुठी संस्थान, स्थानीय प्रशासन र सरोकारवालाको छलफलले ठूलो भिडभाड नगरी जात्राको विधि पूरा गर्ने सहमति गरेको हो । शुक्रबार रिङरोडभित्र ललितपुरमा कर्फ्यु लगाइएको छ ।

स्थानीय गुठियारले निषेधाज्ञाका र संक्रमण फैलिन सक्ने जोखिमबीच अप्रत्यासित रूपमा रथ तानेपछि गुठी संस्थानले जात्राको औपचारिकता पूरा गर्ने निर्णय लिएको हो । तर, कर्फ्यु लगाइएकाले शुक्रबारको क्षमापूजा गर्ने र वैकल्पिक विधिबाट रथयात्रा पूरा काम रोकिएको छ । कर्फ्यु हटेपछि यो पूरा हुनेछ ।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले रथको अवस्थासमेत अत्यन्तै जीर्ण भएकाले रथयात्रालाई सांकेतिक बनाउनु नै उपयुक्त विकल्पको रूपमा पहिचान भएको बताए । ‘हाम्रो भगवान्प्रतिको श्रद्धा घटेको छैन, विमति पनि छैन,’ संस्थानका प्रवक्ता थपलियाले भने, ‘धार्मिक–सांस्कृतिक परम्परा धान्ने वैकल्पिक व्यवस्था शास्त्रमै पनि छ, तर यो महामारीको विकल्प छैन ।’

जात्राअन्तर्गत शनिबार सांकेतिक रूपमा रथ तान्ने, दिनभरि पूजाआजा गर्ने र रथलाई खटमा राखेर २२ भदौमा बुङमतीमा पु¥याउने सहमति भएको ज्यापू समाजका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले बताए । मलमासअगाडि नै मत्स्येन्द्रनाथलाई बुङमती पु¥याउनुपर्ने प्रचलन छ । २ असोजबाट मलमास सुरु हुँदै छ ।

प्रशासनले निषेधाज्ञा जारी गरेपछि मलमासअगाडि रथलाई बुङ्मती पु¥याउन नसकिने भन्दै स्थानीय युवा र गुठियार बिहीबार बिहानैबाट पुल्चोकमा सडक प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएकाले पुल्चोकमा रहेको रथ नै तान्न थालेपछि बिहीबार प्रहरी र स्थानीयबीच झडप भएको थियो । बिहीबार जबर्जस्ती करिब एक सय मिटरसम्म रथ तानिएको थियो । प्रशासनलाई कुनै जानकारी नै नदिई युवाहरूको समूहले निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

प्रहरीले भिडभाड नगर्न र घर जानसमेत आग्रह गरेको थियो । तर, स्थानीय युवा र केही गुठियारले अचानक रथ नै तान्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याससमेत प्रयोग गरेको थियो । स्थानीयले ढुंगामुढा प्रहार गरेका थिए । प्रहरीको गाडीसमेत तोडफोड गरेका थिए ।

रथ तान्ने कार्यमा मुख्य जिम्मेवार गुठी संस्थान, त्यहाँका मुख्य गुठियार र सरोकारवाला १९ वटा विभिन्न संघसंस्थाले पनि आन्दोलन र रथयात्राबारे कुनै जानकारी नै नभएको बताएका छन् । ज्यापू समाजका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले नयाँ पत्रिकासँग भने, ‘हामीलाई कुनै जानकारी थिएन, अचानक यस्तो भयो, कहाँबाट, कसले परिचालन ग¥यो, हामी छलफल गर्दै छौँ ।’ उनले रथयात्रा पूरा गर्नुपर्नेबारे अनौपचारिक छलफलका लागि जुटिरहेका वेला अनौठो तरिकाले भिड जम्मा भएको बताए । प्रदर्शनकारीले बल प्रयोग गरेर रथ तान्दा र झडपका कारण बिहीबार रथमा समेत ठूलो क्षति पुगेको उनले जानकारी दिए ।

दुई महिनासम्म मनाइने जात्रामा सबैभन्दा लामो दूरीसम्म रथ तान्ने गरिएको छ । तर, यस वर्ष भने कोरोनाका कारण जात्रा प्रभावित भएको हो । कोरोनाकै कारण रथ निर्माणदेखि रथारोहण र रथयात्रासम्मका गतिविधि प्रभावित थिए । करिब एक हजार ६ सय वर्षदेखि उपत्यकामा रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिन्छ । वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म रथयात्रा गर्ने गरिएको छ । तर, यस वर्ष भने रथयात्रा सकिनुपर्ने वेलासम्म पनि रथ निर्माण नै सुरु हुन सकेन । तिथिअनुसार गएको १२ वैशाखमा गर्नुपर्ने रथारोहण १० साउनमा गरिएको थियो  नयाँ पत्रिकामा खवर छ ।