डा. केसीद्वारा सत्याग्रह स्थगन

2992
views

जुम्ला, १९ भाद्र । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा डा .गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन्। उनले प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुन सत्याग्रह स्थगित भएको जनाएका हुन् ।

उनले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गरेका थिए। उक्त दिनसमेत सत्याग्रह बस्ने वातावरण नमिलेपछि स्थगित गरेका थिए। विज्ञप्तिमा भनिएको छ, कोराना महामारी फैलिँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छु। सरकारले आफूले राख्दै आएका माग पूरा नगरेको खण्डमा कुनै पनि बेलामा सत्याग्रह बस्ने जानकारी गर्दछु।

उनले विज्ञप्तिमार्फत यस जोखिम अवधिमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियमिति सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण समेत गराएका छन्।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडिजिपी इन जनरल प्राटिक्स, एमडी इन एनेष्थेसिया, एमडी इन पेडियाट्रिक्स गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको गरिसकेको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले तीन विधाका पाँच सिटमा विशेषज्ञ चिकित्सा शिक्षा यही शैक्षिक वर्षभित्र अध्ययन अध्यापन हुने बताउँदै केही महिनापछि एमबिबिएस पढाइ हुने जानकारी दिए।

यस्ता छन् डा केसीका पछिल्ला माग

डा केसीले पछिल्लो समय राखेका मागमा प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस सञ्चालन, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन र सरकारले २०७५ साल साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन रहेका छन्।

यसैगरी शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन, सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्ने लगायतका रहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधारसहित डाक्टर पढाइ हुनुपर्ने लगायतका माग राख्दै उनी सत्याग्रह बस्न गत साउन ११ गते जुम्ला पुगेका समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।