चीनतर्फका मुख्य नाका ठप्प

609
views

काठमाडौं, १९, भदौ । चीनतर्फका प्रमुख दुई नाका तातोपानी र रसुवागढीबाट मालवाहक गाडीहरू छुट्न नसक्दा चाडपर्वका बेला हुने आयात ठप्प भएको छ । भन्सार विभागका अनुसार असारदेखि नै पहिरोले सडक अवरुद्ध भएका कारण तातोपानी नाका बन्द छ भने रसुवागढी नाका पछिल्लो समय सञ्चालनमा आए पनि त्यहाँ सामान लोड गर्ने मजदूरमा कोरोना संक्रमण देखिएपछि अहिले बन्द छ ।

भन्सार विभागका निर्देशक शिशिर घिमिरे चीनतर्फका नाका सञ्चालन गर्न भौगोलिक विकटताका कारण चुनौती रहेका बेला प्राकृतिक विपत्ति र महामारीले थप अप्ठ्यारो परेको बताउँछन् ।

मजदूरमा कोरोना भेटिएसँगै तत्काललाई नाका सञ्चालनमा ल्याउन नसकिएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । ‘हाल कार्यरत अन्य मजदूरहरूको स्वाब लिएर क्वारेन्टाइनमा राखिएको छ । रिपोर्ट नआउँदासम्म नाका खुल्ने अवस्था छैन,’ उनले भने ।

खड्काका चिनियाँ अधिकारीले दुवैतर्फका सवारी चालक, सहचालक, सामान लोड गर्ने मजदूर सबैको पीसीआर परीक्षणको नतीजा आएपछि मात्र सामान पठाउने बताएका छन् ।

नाकाबाट सामान नआउँदा भन्सारमै करीब ३० कन्टेनर थन्किएको भन्सार कार्यालयले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।