सेयर सदस्यलाई कोरोना बिमा

511
views

पोखरा, १९, भदौ । सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई १ लाख बराबरको कोरोना बिमा गराएको छ । सहकारीमा बिहीबार सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता भएको हो । सहकारीले आफ्ना सेयर सदस्यको हितमा बिमा गरिएको सहकारीले जनाएको छ ।

पोखरा ११ रानीपौवा स्थित आफ्नै कार्यालय परिसरमा भएको सम्झौतामा सहकारीका सेयर सदस्यलाई १ लाख रुपैयाँ बराबरको नगद प्राप्त हुने गरी कोरोना बिमा गरिएको सहकारीका प्रबन्धक विकास सुवेदीले जानकारी दिए ।

सहकारीका सवै सेयर सदस्यलाई कोरोना भाइरसको आतंक हटाउन कोरोना बिमाले फाइदा पुग्ने सहकारीका कार्यवहाक अध्यक्ष भिमप्रसाद न्यौपानेले जानकारी दिए । आर्थिकरुपमा सक्षम सयपत्री सहकारीले सामाजिक उत्तरदायित्वका कार्यले पोखरा क्षेत्रलाई उत्साहित बनाउँदै आएको सहकारीका संस्थापक अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले उल्लेख गरे ।

बिमा हस्तान्तरण कार्यक्रममा कोरोना रोग लागेको सम्वन्धित निकायले पुष्टि गरेको अवस्थामा दावी भुक्तानी दिने छ । सहकारीका कुनै सदस्यलाई कोरोना प्रमाणित भएको अवस्थामा इन्स्योरेन्स कम्पनीले १ लाख नगद भुक्तानी गर्ने सगरमाथा इन्स्योरेन्स पोखरा शाखा प्रवन्धक कविराज पौडेलले बताए ।

सहकारीले १ अर्व १५ करोड निक्षेप, १ अर्व १३ करोड कर्जा लगानी र २४ करोड तरलता रहेको संस्थाका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले जानकारी दिए । १२ करोड ३८ लाख सेयर पुजी रहको सहकारीको ८ करोड २ लाख जगेडा तथा अन्य कोष रहेको सहकारीले जनाएको छ ।