मच्छेन्द्रनाथको रथ तान्ने क्रममा कुटाई खाएका सिपाहीको मार्मिक स्टाटस्

817
views

काठमाडौं, २०, भदौ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेले आँफु मरणासन्न हुनेगरी कुटाई खाएपनि जनताको सेवा गरिरहने बताएका छन् ।

घिमिरेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ‘तिमीले आज जे देखायौ त्यसलाई भुलेर फेरी पनि सेवा गर्नेछु । तिमीलाई प्रहरीको खाँचो पर्दा फेरी पनि बोलाउनु, फेरी पनि मुस्कुराउने छु । तिमी पिट्दै गर म सहँदै गर्छु, अहिले ईट्टा हान्यौ बेलुकी म तिम्रै घरको बाहिर उभिएर तिम्रो रक्षा गर्नेछु । बस एउटा निवेदन छ झुक्किएर तिम्रो आफ्नो छोराछोरीहरुलाई पुलिस नबनाउनु । म यसै सब चोट सहन सक्छु । म यसै चोट सहन सक्छु ।

ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडपमा मोटरसाईकलमा आएका घिमिरेलाई युवाहरुको समूहले निर्घात रुपमा समाती समाती कुटपीट गरेका थिए ।

कुटपीट गर्ने १३ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीमाथि कुटपीट गर्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ । तर राष्ट्र र जनताको सेवामा खटिएको सिपाहीले अस्पतालको वेडबाट मार्मिक स्टाटस लेखिरहँदा कार्वाही हुन्छ वा हुँदैन यो हेर्न बाँकी नै छ ।