एक अर्ब लगानीमा नेपालमै टीभीएसका मोटरसाइकल उत्पादन

577
views

काठमाडौं । शंकर ग्रुपले एक अर्ब लगानीमा नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट शुरू गरेको छ । नेपालमा आधिकारिकरुपमा टीभीएसका बाइक तथा स्कुटर बिक्रीवितरण गर्दै आएको व्यावसायिक घराना शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोर्टसले यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो ।

कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरू भएको जगदम्बा मोटर्समा उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए । अग्रवालका अनुसार प्लान्टमा टिभिएसको सबै रेन्जमा मोटरसाइकल, स्कुटर र तीन पांग्रे सवारीसाधन उत्पादन गर्न सकिने भए पनि पहिलो चरणमा ‘अपाचे १६०’ मात्र उत्पादन गरिएको छ ।

यो प्लानबाट वार्षिक १ लाख दुईपांग्रे र १५ हजार तीनपांग्रे सवारी साधन उत्पादन गर्नसक्ने क्षमता रहेको अग्रवालले जानकारी दिए। उनकाअनुसार यो प्लान्टमा हाल १ सय जना दक्ष जनशक्तिले रोजगारी पाइरहेका छन् भने प्लान्टको क्षमताअनुसार उत्पादन गर्नसके अरु धेरैले रोजगारी पाउनेछन् । नेपालमै उत्पादन गरिए पनि सरकारले एसेम्बल प्लान्टलाई खासै सुविधा नदिएको कारण ग्राहकले तत्काल सहुलियतको महशुस गर्न नपाउने उनले बताए ।

एसेम्बल प्लान्टको लागत तत्काल उठ्न नसके पनि यसले अरु उद्योगको सम्भावना बढाउने अग्रवालको तर्क छ । हाल सबै पाट्स बाहिरबाट ल्याउने भएपनि एसेम्बल प्लान्ट खुलि सकेपछि विभिन्न पार्ट्स उत्पादनको लागि बाटो खुल्ने उनले बताए ।