थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

394
views

काठमाडौँ, २२, भदौ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो ।

विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ ।” मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।

सुरुङमार्ग निर्माण स्थलको आकस्मिक अनुगमन गर्नुभएका विज्ञ थपलियाले अनुगमनका क्रममा आफूले निर्माणकार्य निरन्तर अगाडि बढाउन अब कुनै समस्या नरहेको पाएको जानकारी दिनुुुभयो । निर्माण कम्पनीको आयोजना निर्देशकको प्रत्यक्ष रोहवरमा २४ घण्टा काम भइरहेको छ । “निर्माणका क्रममा कुनै समस्या उत्पन्न भए यथाशीघ्र सम्पर्क गर्न आयोजना निर्देशकलाई भनेको छु,” उहाँले भन्नुभयो, “अब कुनै समस्या देखिँदैन, देखिएको नयाँ समस्यालाई थयाशीघ्र समाधान गरी कामलाई निरन्तरता दिइने छ ।”

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम भइरहेको जानकारी दिनुभयो । दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उहाँले अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिसकिने जानकारी दिनुभयो । करिब २.७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ ।

मुलुककै चासोको विषय रहेको सो सुरुङमार्ग निर्माणकार्य निर्धारित समयमा नै सकिने गरी कामलाई तीव्रता दिइएको बताउँदै उहाँले हरेक दिन चारवटा विस्फोट गराइने बताउनुभयो । कोरोना सङ्क्रमणबीच पनि दूरी कायम गर्दै अहिले दुई सय जना जनशक्ति खटिरहेको उहाँले बताउनुभयो ।

ढिलो भएको समयको समेत व्यवस्थापन हुने गरी काम अगाडि बढाइएको बताउँदै उहाँले निर्धारित समयमा नै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । राजमार्ग अवरोध नहुने गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो । राजमार्गको ठीक पाँच मिटरमुनि सुरुङमार्ग निर्माण भइरहेको छ ।
निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा परेको सिस्नेखोलालाई अहिले तर्काउने काम भइरहेको महाशाखाका प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “आठ इन्च वृत्ताकार नाला बनाएर स्थायी रूपमा खोला तर्काउने काम भइरहेको छ, खोला भएको ठाउँमा सुरुङमार्गको नियन्त्रण कक्ष निर्माण गरिने छ ।”

सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने उपकरण नागढुङ्गास्थित आयोजना स्थलसम्म आइपुगेको थापाले बताउनुभयो । उहाँका अनुसार जम्बो ड्रिलर, एक्साभेटर, कङ्क्रिट गर्ने प्रेसर मेसिन, ह्विल लोडर, टनेल लाइनिङ गर्ने मेसिन लगायतका करिब चार अर्ब रुपियाँ बराबरका उपकरणहरू जापानबाट नेपाल आइसकेको छ ।

यो सुरुङमार्ग जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारले आन्तरिक स्रोतबाट छ अर्ब बेहोरेर निर्माण थालिएको हो । सरकारको नीति तथा कार्यक्रममा कुल लम्बाइ २.७ किलोमिटर रहेको यस सुरुङमार्गको आर्थिक वर्ष २०७७÷७८ मा एक किलोमिटर निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ । गोरखापत्र अनलाईनबाट