५० शैयाको क्षमतामा शिशुवा अस्पताल

355
views

पोखरा, २३, भदौ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि.सी. ले शिशुवा अस्पताललाई ५० शैयाको क्षमतामा पुर्याउने लक्ष्य रहेको बताएका छन् । अस्पतालमा पहिलोपटक शल्यक्रिया मार्फत प्रसुति सेवा उपलब्ध गराइएकी रिता श्रेष्ठलाई सुत्केरी पोषण सामाग्री हस्तारणपछि आयोजित अन्तरक्रियामा प्रमुख जि.सी. ले उक्त कुरा बताएका हुन ।

उनले अहिले १५ शैया रहेको अस्पताललाई साविक लेखनाथ नगरपालिकाको जग्गामा निर्माण हुने विशिष्टीकृत बाल अस्पतालसँगै स्तरोन्नती गरिने बताएका हुन ।

महानगरपालिकाको स्वामित्वमा रहेको शिशुवा अस्पतालमा न्यून जनशक्तिका विच शल्यक्रिया मार्फत प्रसुती सेवा शुरु भएको भन्दै, थप जनशक्तिका लागि पहल गर्ने उल्लेख गरे । प्रमुख जि.सी. ले शल्यक्रियाको नेतृत्व गरेका चिकित्सक सहित अस्पताल व्यवस्थापन समितिलाई महानगरको तर्फबाट धन्यवाद समेत दिएका थिए ।

सोही क्रममा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ्गले अस्पतालमा प्रसुती सेवा शुरु भएपछि लेखनाथ र आसपासका बासिन्दा पोखरासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गरिन । प्रसुतीका लागि आपतकालिन अवस्थामा ४५ मिनेट लगाएर पोखरासम्म धाउँदा आमा र बच्चाको स्वास्थ्य जोखिम हुने गरेको उल्लेख गर्दै, उपप्रमुख गुरुङ्गले अस्पताललाई गुणस्तरिय बनाउन महानगरले जोड दिने बताईन । सुरक्षित प्रसुती सेवा शिशुवामै पाइन्छ भन्ने विश्वास दिलाउन पनि उनले चिकित्सकको टोलीलाई आग्रह गरिन् ।

महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले शल्यक्रियाबाट पहिलो बच्चाको जन्म भएपनि आगामी दिनमा विशेषज्ञिय सेवाका चिकित्सको व्यवस्थापन चूनौती रहेको बताए । उनले विभिन्न परिक्षण, ल्याब लगायतका सेवा र सुविधा थप्नु पर्नेमा जोड दिए ।

शिशुवा अस्पतालका मेडिकल सुपरिटेण्डेन प्रतिभा कोइरालाले सवैको सहयोगबाट अस्पतालमा पहिलो पटक शल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराउन सकिएको उल्लेख गरिन । उनले न्यून रहेको श्रोत र साधनलाई चूनौतीका रुपमा लिदै त्यसलाई अवसरका रुपमा परिण गर्ने प्रयास गरिएको बताईन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझाले शिशुवा अस्पतालको सेवाबाट लेखनाथका मात्रै नभई मादी र रुपा गाउँपालिका सहित कास्कीको पूर्विभेगसँग जोडिएका लम्जुङ्गका विभिन्न स्थानका बासिन्दा लाभान्वीत हुने बताए । उनले मातृ तथा शिशुसँग जोडिएका चिकित्सक, जाँच र ल्याबको व्यवस्था हुनु पर्नेमा जोड दिए ।

शनिबार अस्पतालमा पहिलो पटक बारा जिल्ला कोहल्बी नगरपालिका—८ नयाँबस्तीका १८ बर्षिया रीता श्रेष्ठको शल्यक्रिया गरी प्रसुती गराइएको थियो ।