गोर्खाल्याण्ड आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु

583
views

दार्जिलिङ । शनिवार दार्जिलङमा दुईजनाको मृत्यु भएको छ । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा दुई जनाको मृत्यु भएको हो ।
मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
मोर्चा कार्यकर्तालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले दार्जिलिङ बिजनवारीनजिक गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । बिजनवारीका दली सुब्बा र लाक्पा शेर्पाको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिनुभयो ।
मोर्चा महासचिव रोशन गिरीले बंगाल प्रहरीले चार जनाको हत्या गरेको आरोप लगाउनुभएको छ । आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ । बंगाल सरकारले हिमाली, डीटीभी लगायत च्यानल बन्द गराएको हो । प्रहरीले पत्रकार विक्रम राईलाई गत राति पक्राउ गरेको छ ।
यसअघि शुक्रबार दिल्ली पुगेको मोर्चाको प्रतिनिधिमण्डलले गृहमन्त्री राजनाथ सिंहलाई भेटेर राज्य सरकारको ज्यादतीविरुद्ध हस्तक्षेपकारी भूमिका खेल्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुग्नुभएका मोर्चाका महासचिव रोशन गिरीले भन्नुभयो, ’हामीले गृहमन्त्रीलाई भेटेर बंगाल सरकारको कदमविरुद्ध हस्तक्षेपकारी भूमिका खेल्न आग्रह गरेका छौं ।’ गृहमन्त्री सिंहले उपयुक्त कदम चाल्ने आश्वासन दिएको उहाँले बताउनुभयो । उक्त घटनापछि मोर्चाका नेता भूमिगत अवस्थामा छन् । मोर्चा अध्यक्ष गुरुङले बंगाल सरकारले गोर्खाल्यान्डमा आतंक मच्चाएको प्रतिक्रिया दिनुभएको छ । उहाँले ममता बेनर्जीको आतंकका कारण गोर्खाल्यान्डको माग नरोक्ने प्रस्ट पार्नुभएको छ । गुरुङले गोर्खाल्यान्डको एक मात्र एजेन्डासहित आफू अविचलित अघि बढ्ने बताएको मोर्चानेत्री नीरा शर्माले जानकारी दिनुभयो ।