कोरोनाबाट देशभर ११ जना संक्रमितको मृत्यु

365
views

काठमाडौं । कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा ४ महिला सहित ७ जना पुरुष छन्। मृतकमध्ये सबैभन्दा धेरै काठमाडौंका ३ जना महिला छन्।

काठमाडौंका ३७ वर्षीया, ८३ वर्षीया र ९० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ६२ वर्षीय र ८७ वर्षीय पुरुष, सर्लाहीका ३७ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुषको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

मन्त्रालयका अनुसार मकवानपुरका ३९ वर्षीय पुरुष, कास्कीकी ६३ वर्षीया महिला र बाँकेका ५९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ सय २६ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा २ सय ९३, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा कोरोना पुष्टि भएको हो।

सोमबार थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।

यो संख्या कुल संक्रमितको ६५ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। पछिल्लो समय ९ हजार २१८ जनाको पिसिआर परीक्षण गरिएको छ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ छ। हाल क्वारेन्टाइनमा ४ हजार ७३९ जना छन्।