ओली-प्रचण्डले स्थायी कमिटीको बैठकको लागि तय गरे ‘सहमतिको प्रस्ताव’

553
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठकको एजेण्डा तय गरेका छन्।

बुधबार भएको भेटवार्तापछि उनीहरुले स्थायी कमिटीको एजेण्डा तयार पारेका हन्। बालुवाटारमा करिब २ घण्टासम्म दुई अध्यक्षबीच भेटवार्ता भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले बताए।

बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो। पार्टीको विवाद उत्कर्षमा पुगेको बेला महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन भएको थियो। कार्यदलले भदौ ५ गते १७ पन्‍ने प्रतिवेदन पेश गरिसकेको छ।

प्रतिवेदनमा अध्यक्षद्वयको कार्यविभाजन, सरकार र पार्टी नेतृत्वको समीक्षा, भारसँगको सीमा विवाद, कोरोना भाइरस, अमेरिकी परियोजना एमसिसी, पार्टी एकताको बाँकी काम, एकता महाधिवेशन लगायत बिषयबस्तु समावेश छ। तर, वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिवेदनमा सबै कुरा खुलस्त नआएको भन्दै असन्तुष्टि जनाएका थिए।

ओली(दाहाल छलफलपछि कार्यदलको प्रतिवेदनमाथि केही संशोधन गरिएको बुझिएको छ। कोरोनाको महामारीबीचमा शुक्रबार बोलाइएको स्थायी कमिटी बैठक एकैदिनमा सक्ने समेत सहमति भएको स्रोतको दाबी छ।

कार्यदलको प्रतिवेदन र अध्यक्षद्धयको सहमतिको प्रस्ताव बैठकमा आउने भएकाले ओलीको राजीनामाको बिषय बैठकमा नआउने कार्यदलको प्रतिवेदनमा उल्लेख छ। तर, नेता नेपाल भने ुएक व्यक्ति, एक पदुको अडानबाट पछि नहटेको बुझिएको छ।

अध्यक्षद्वयको प्रस्तावलाई पारित गरेर बैठक सक्ने तयारी छ। यसअघि असार १० गतेबाट सुरु भएको बैठक विवादको कारणले साउन १३ गतेबाट बस्न सकेको छैन।