एआइआइबीले नेपालमा (३ सय ८० मिलियन अमेरिकी डलर) लगानी गर्ने

789
views

नेपालले प्रस्ताव गरेका दुई आयोजनामा एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले करिब ३८ अर्ब रुपैयाँ (३ सय ८० मिलियन अमेरिकी डलर) लगानी गर्ने भएको छ । दक्षिण कोरियामा सम्पन्न बैंकको बोर्ड अफ गभर्नर्सको दोस्रो बैठकका क्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा एआइआइबीका अध्यक्ष जिन लिक्युनले नेपालले प्रस्ताव गरेका मध्ये दुई आयोजना प्राथमिकतामा रहेको र यसलाई छिट्टै टुंग्याउने बताएका हुन् । उनले अन्य आयोजना अघि बढाउन पनि बैंक सकारात्मक रहेको जानकारी अर्थमन्त्रीलाई गराएको भ्रमणटोलीका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए ।
‘सहरी पूर्वाधार विकास कार्यक्रमका लागि २८ अर्ब र विद्युत् वितरण प्रणाली सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ,’ अर्यालले भने । एआइआइबीको टोलीले पहिलो चरणको अध्ययन समेत गरिसकेको यो आयोजनाको ऋण सम्झौता छिट्टै गर्ने तयारी अर्थ मन्त्रालयको छ ।
नेपालले यी दुईबाहेक ८० मेगावाटको शारदा बबई जलाशययुक्त आयोजना, पोखरा–बेनी–मुस्ताङ सडक स्तरोन्नति, टोखा–छहरे सुरुङ मार्ग र तराईका सहरी पूर्वाधार सुधार कार्यक्रममा लगानीको प्रस्ताव एआइआइबी समक्ष गरेको थियो ।
तत्काल लगानी गर्न सकिने आयोजना नभएपछि पहिलो चरणमा ६ आयोजनामा लगानीका लागि नेपालले आग्रह गरेको थियो । अघिल्लो वर्ष असारमा सम्पन्न एआइआइबीको पहिलो वार्षिक बैठकमा नेपालले ती आयोजनामा लगानीका लागि प्रस्ताव पठाएको हो । साढे दुई वर्षअघि स्थापना भएको बैंकको संस्थापक नेपाल पनि हो । चीनको मुख्य लगानी रहेको बैंकमा नेपालसहित ५७ राष्ट्र संस्थापक छन् । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपालमा यातायात, जलविद्युत् उत्पादन तथा प्रसारण, खानेपानी, हवाई तथा सूचनाप्रविधिको क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।