‘१३ करोड खै मेयरसाब’ : पोखरा महानगरपालिकाका भ्रष्टलाई कारबाहीको माग

616
views

पोखरा, २४, भदौ । पोखराका स्वतन्त्र युवाहरुको समूह ‘जागौं पोखरा अभियान’ ले पोखरा महानगरपालिकाभित्रका अनियमितता विरुद्ध दबाबमूलक कार्यक्रम गरेको छ । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यलय, पोखरा नयाँबजार अगाडि दबाब स्वरुप एक घण्टा विरोध प्रदर्शन गरेका हुन ।

‘जागौं पोखरा अभियान’ का अभियन्ताहरुले एकमहिना अगाडि ‘१३ करोड खै मेयरसाव’ लेखिएको प्लेकार्ड लिएर महानगरमा प्रदर्शन गरेका थिए ।

पोखरा महानगरपालिकाका मेयर मानहादुर जिसीले १३ करोड नभई १ करोड ७३ लाख रुपैयाँ मात्रै तलमाथि भएको दाबी गर्दै बास्तबिक हिसाबकिताब सार्बजनिक गर्न २५ दिनको समय माग गर्नुभएको थियो । तर उहाँले भने जस्तो ११ करोड रुपैयाँ पनि राजश्व खातामा जम्मा नभएको अभियन्ता दीपक आचार्यले दाबि गर्नुभएको छ । ‘२ वर्षअघिको लेखापरीक्षण गरिएको हो । चेक छ भनिएको रकम अहिलेसम्म खातामा जम्मा भएको छैन,’ भन्दै अभियन्ताहरु १३ करोड नै हिनामिना भएको आफ्नो दाबीमा अडिग छन् ।

महानगरले अनियमितताबारे स्पष्टिकरण दिएर दोषीमाथी कारबाही गर्नुपर्ने उनीहरुको माग रहेको छ । ‘महानगरको भ्रष्टाचार, अनियमितताप्रति प्रश्न सोध्ने अधिकार हामीलाई छ, यति ठूला अनियमितताका घटना सार्वजनिक हुँदा पनि किन चुप छ महानगर ?, भन्दै कार्यक्रम संयोजक शिरीष गुरुङले प्रश्न गर्नुभएको छ । उहाँले नागरिकले तिरेको करमाथि मनपरी गर्ने अधिकार कसैलाई नभएको र एकएक हिसाब दिनुपर्ने बताउनुभयो ।

महानगरभित्र भएका अनियमितताबारे छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनका साथै कर्मचारीले अनियमितता गरेको प्रष्ट देखिए पनि राजनीतिक संरक्षण दिने गरिएको आरोप अभियानले लगाएको छ ।

अभियानका अभियन्ता सबिता शर्माले जनताको करको हरहिसाब चुस्त राख्नु महानगरको दायित्व हुने भन्दै धर्नामा सहभागि भएको बताउनुभयो । ‘नभएको पैसा खोजेको छैन, राजश्वकै रकम दायाँबायाँ भएपछि त बोल्नुपर्छ,’ उनले भनिन, ‘हामीले २५ दिनको समय दिएर हिसाब मागेका हौ ।’ समय सकिदा पनि महानगरले हिसाब नदिएको हुँदा आफुहरु छब्बिसौं दिन धर्नामा सहभागि भएको शर्माको भनाई थियो ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले लेखा विज्ञहरुद्वारा छानबिन अघि बढाइसकेको बताउनुभयोे ।

‘१३ करोड नै तलमाथि परेको होइन, धेरै राजश्व जम्मा भैसकेको छ,’ उहाँले भन्नुभयो, ‘पौने २ करोडको हिसाब मिलेको छैन । त्यो पनि खोजी भैरहेको छ । केही दिनभित्रै सत्यतथ्य पत्ता लाग्नेछ ।’ साथै उहाँले अनुसन्धानक्रममा कोही दोषी देखिए कार्बाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।

पोखरा महानगरको राजश्व शाखा विभिन्न समय विवादित बन्दै आएको छ । तर मेयर को उक्त भनाइ प्रति अबिश्वास गर्दै समय सिमा सकिदा समेत हिसाब मिलाउन र कर्मचारी बचाउनलाई अरु समय दिन नसकिने अभियन्ता शिबराज बस्ताकोटिले बताउनुभयो ।

महानगरका भ्रष्ट कर्मचारीलाई कारबाहि हुनुपर्ने मुख्य माग सहित आज अख्तियार पोखराका कार्यालय प्रमुख बिपिन आचार्यलाइ ध्यानाकर्षण पत्र बुझाइएको बिस्व हिन्दु महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष जागौ पोखराका शंकर खरालले बताउनुभयो ।

सोही अवसरमा बोल्दै तेह्र करोडको हिसाब नपाएमा अब जस्तोसुकै अबस्था सिर्जना गर्न आफुहरु पछि नपर्ने अभियन्ता गोमा पराजुलिले बताउनुभएको छ ।

बिगत तिनदिन देखि महानगरमा धर्ना दिदै आएको जागौ पोखराले हिजो मंगलबार गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र थियो ।

१३ करोडको हिसाब सार्बजनिक गर, १० बर्षदेखि रहेका महानगरका कर्मचारिको सम्पति छानबिन गरी सार्बजनिक गर, कर्मचारि सेवा ऐन २०७६ स्थगित गर भनि तिन बुदे माग सहितको ब्यानर र सो कार्यक्रम मा संकलन गरिएको हस्ताक्षर प्रदान गरि महानगरको धर्ना स्थगित गरेर आज(बुधबार)बाट अख्तियार कार्यलय पोखरामा एक घन्टा धर्ना कार्यक्रम सहित जागौ अभियानले ध्यानाकर्षण पत्र बुझाएको छ ।

सो धर्ना कार्यक्रममा मौन रहि महानगरमा भ्रष्टाचार छ अख्तियार खोई कँहा छ ? भन्ने  बिभिन्न नारा सहितको प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

महालेखापरीक्षकको प्रतिवेदनले २०७५ र ०७६ मा पोखरा महानगरपालिकाको १३ करोड रुपैयाँ तलमाथि भएको रिपोर्ट निकालेको छ । राजश्व शाखाको तथ्यांक र बैंकमा जम्मा भएको रकमबीच १३ करोडको फरक छ । मुक्तिनाथ विकास बैंकबाट त्यस वर्ष १ अर्ब २६ करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकको सञ्चित खातामा जम्मा भएको छ । तर राजश्व शाखाको तथ्यांकले १ अर्ब ३९ करोड राजश्व उठेको देखाउँछ । त्यसो भए बाँकी १३ करोड खै त ? मलेपको प्रतिवेदन आएपछि पोखराका युवाहरुले तलमाथि भएको १३ करोडको हिसाब खोजेका छन् ।