निर्वाचन परिणामले ब्रेजिक्ट वार्तामा बढाएको अन्योल

709
views

एजेन्सी । बेलायतमा यसै साता सम्पन्न आमनिर्वाचन परिणामले ब्रेक्जिट प्रक्रियामा पार्ने प्रभावबारे अहिले सिंगो बेलायत र युरोपेली मुलुकमै चर्चा सुरु हुन थालेको छ । युरोपेली युनियन (इयू)बाट बेलायत बहिर्गमन हुने ‘ब्रेजिक्ट वार्ता’ नजिकिँदै जाँदा निर्वाचन परिणामले पार्ने प्रभावबारे बहस बढेको हो । इयूसँगको निर्णायक ब्रेजिक्ट वार्ता दुई दिनपछि सुरु हुँदैछ । तर, निर्वाचन परिणामले वार्ता निर्धारीत समयमै हुनेमा आशंका बढेको छ ।
मतपरिणामले ब्रेजिक्ट वार्ता अन्योलमा
झन्डै एक वर्षअघि भएको जनमत संग्रहमा बेलायतले इयूबाट अलग हुने पक्षमा मतदान गरेको थियो । सोही समयदेखि नै बेलायतको बहिर्गमनबारे पक्ष–विपक्षमा धेरै बहस हुँदै आएका छन् । यही बहसका बीच प्रधानमन्त्री थेरेसा मेले अकस्मात मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । ब्रेजिक्ट वार्तामा सरकारको हात माथि पार्न र सत्तारुढ कन्जरभेटिभलाई दुईतिहाइ बहुमत जुटाउन भन्दै प्रधानमन्त्रीले निर्वाचन सम्पन्न गरेकी थिइन् । तर, मतपरिणामले बे्रक्जिट वार्तालाई झन अन्यौलतर्फ धकेलेको छ । निर्वाचनमा कन्जरभेटिभले आफूसँग भएको बहुमत गुमाएको छ, तथापि संसद्मा बहुमत सिद्ध गर्न प्रधानमन्त्रीले साना दलसँगको वार्ता तीब्र पारेकी छिन् । विपक्षीको राजीनामाको दबाबका बीच प्रधानमन्त्रीले ब्रेक्जिट वार्तालाई तार्किक निस्कर्षमा पु¥यानु उनका लागि फलामको चिउरा साबित हुने विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
वार्ता सार्नुहुन्न
इयूबाट बेलायत बहिर्गमनका लागि दुई दिनपछि निर्णायक वार्ता हुँदैछ । निर्वाचन परिणामले वार्तामा खासै ठूलो असर नहुने युरोपेली आयोगका अध्यक्ष जिन क्लाउडी जंकचरको विश्वास छ । ब्रेजिक्ट वार्तामा ढिलाइ गर्न नहुने पनि उनको भनाइ छ, तर ब्रेजिक्ट वार्ताटोलीका केही सदस्यले प्रधानमन्त्री मेको आलोचना गरेका छन् । ‘क्यामरुनपछि मेले ब्रेजिक्ट वार्तालाई थप जटिल बनाएकी छिन्,’ वार्ताटोलीका सदस्य गाय भर्सहोफस्टाड भन्छिन् । त्यस्तै, ब्रेजिक्ट वार्तामा अन्यौल छाएको युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टक्सको भनाइ छ । ‘ब्रेजिक्ट वार्ता कहिले सुरु भई त्यसको कहिले अन्त्य हुन्छ भन्नेमा हामीलाई केही थाहा छैन,’ टक्स भन्छन् ।
इयू वार्ता गर्न तयार
जनमत संग्रहअघिसम्म इयूले बेलायत अलग नहोस् भन्ने चाहन्थ्यो । तर, बहुमत बहिर्गमनको पक्षमा रहेको र ब्रेजिक्ट प्रक्रिया सुरु भइसकेको अवस्थामा इयूले यो प्रक्रियालाई जति सक्दो चाँडो टुंग्याउन चाहेको जनाएको छ । आफ्नो पार्टीको संसद्मा उपस्थिति बलियो बनाउन प्रधानमन्त्रीले चुनाव घोषणा गरेकी थिइन् । तर, परिणामले उनको निर्वाचन गर्ने घोषणा आत्मघातीसिद्ध गरेको छ । तथापि, निर्वाचन परिणामले बहिर्गमन प्रक्रियालाई कुनै असर नगर्ने इयूले बताउँदै आएको छ । बेलायतमा जुनसुकै पार्टीले सरकार गठन गरे पनि ब्रसेल्सलाई कुनै अर्थ राख्दैन । ऊ केवल एक स्थिर सरकार चाहन्छ, ताकि ब्रेजिक्ट वार्तामा कुनै युटर्न मोड नआओस् ।
कमजोर प्रधानमन्त्री
प्रधामन्त्री मेले जुन उद्देश्यका साथ निर्वाचन घोषणा गरेकी थिइन्, त्यसको परिणाम प्रतिकूल देखिएको छ । परिणामप्रति स्वयं प्रधानमन्त्रीले दुःख व्यक्त गर्दै पराजित सांसदका तर्फबाट क्षमायाचना गरेकी छिन् । निर्वाचन परिणामले कमजोर बनेकी प्रधानमन्त्रीले ब्रेजिक्ट वार्तामा कठोर निर्णय लिन नसक्ने र विपक्षीलाई आफ्नो विश्वासमा लिन नसक्ने देखिन्छिन् । यसले बेलायत र इयू दुवैलाई असर गर्न सक्छ । निर्वाचन परिणामलाई लिएर प्रधानमन्त्रीकै पार्टीका नेता र विपक्षीले चर्को आलोचना गरेका छन् । पूर्वअर्थमन्त्री जर्ज असबोर्नले निर्वाचन परिणामले पार्टीलाई दुर्घटनाग्रस्त बनाएको टिप्पणी गरेका छन् । कन्जरभेटिभका अर्का सदस्य अन्ना सउब्रायले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

दीर्घकालीन आर्थिक प्रतिबद्धता
बहिर्गमनअघि बेलायतले आफ्नो दीर्घकालीन आर्थिक प्रतिबद्धतालाई सम्मान गरोस् भन्ने इयूको चाहना छ । अन्यथा ब्रसेल्सको वार्षिक बजेटमा ठूलो खाडल आउने उसको अनुमान छ । बेलायतले औपचारिक रूपमा मार्चको अन्तिम साताबाट सुरु गरेको थियो । उसले २०१९ सम्ममा विच्छेद गरिसक्नु पर्नेछ । यसले इयू–बेलायतको व्यापार र अन्य सम्बन्धमा असर गर्नेछ । बंैक, व्यापारीगृह, बन्दरगाह र उडान, राजनीतिक रूपमा संवेदनशील र आर्थिक दृष्टिले महत्व बोकेको आइरिस सीमा, बेलायतमा बस्ने इयू नागरिक, बेलायतको स्वास्थ्य सेवालगायतका अन्य क्षेत्र बेलायत जतिसक्दो चाँडो इयूबाट बहिर्गमन होस् भन्ने चाहन्छन् ।