प्लाज्मा थेरापीको लागि रक्त संकलन सुरू

415
views

काठमाडौं, २६ भदौ । केन्द्रीय रक्तसञ्चार सेवालगायत सात स्थानमा प्लाज्माथेरापीको लागि रक्तसंकलन सुरू गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको हो ।

बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेरेसो केन्द्रीय कार्यालयमा पहिलो रक्तदान गर्नुभयो ।

कोरोना संक्रमण निको हुनुभएका तनहँु घर भई हाल काठमाडौं बस्दै आउनुभएका रानाभाटले अरुलाई पनि रक्तदानका लागि अनुरोध गर्दै भन्नुभयो, “मैले पहिले कहिल्यै रक्तदान गरेको थिइन् । कोरोना संक्रमण निको भएपछि मेरो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएर रक्तदान गर्न आएको हुँ ।”

नेपाल सरकार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद एन.एच.आर.सी.को अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा नेपाल रेडक्रसले यो सेवा सुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताउनुभयो ।

सात बुँदे सम्झौता
नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता समेत भएको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

काठमाण्डौँ बाहिर पनि सुरु
स्थानीय अस्पतालसँगको सहकार्यमा नेपाल रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रक्तसंकलन सुरु गरिसकेका छन् । धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।