ओलीले सरकार र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी चलाउने, चैत्रमै महाधिवेशन गर्ने

460
views

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री समेत रहेका केपी ओलीले सरकार र प्रचण्डले कार्यकारी अधिकार सहित पार्टी चलाउने गरी कार्यविभाजन गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले र्दु अध्यक्षको कार्यविभाजनसँगै पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा विष्णु पौडेल नेतृत्वको विवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको प्रस्तावलाई पारित गर्दै स्थायी समिति बैठक सकिएको पनि श्रेष्ठले जानकारी दिए ।

असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै शुक्रबार टुंगिएको हो ।

श्रेष्ठले दुई अध्यक्षको कार्यविभाजन केपी शर्मा ओलीले सरकारको प्रभावकारी सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका कामको नेतृत्व गर्नेगरी कार्यविभाजन भएको बताए ।

बैठकले सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर काम गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

चैत्रमै महाधिबेशन
मुलुककै सबैभन्दा ठूलो पार्टी नेकपाको एकता महाधिवेशन चैतमा नै हुने आजको सचिवालय बैठकले निर्णय गरेको छ । पार्टीको स्थायी समितिको बैठकले २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समितिको समेत बैठक बोलाइएको छ ।

अमेरिकी सहयोग सम्बन्धी कार्यक्रम एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णयसमेत स्थायी समिति बैठकले गरेको छ ।