अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश गिन्सबर्गको निधन

550
views

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएको छ। महिला अधिकारकी च्याम्पियन तथा मत्वपूर्ण प्रगतिशील फैसलाका लागि सदैव स्मरण गरिने न्यायाधीश गिन्सबर्गको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।

सर्वोच्च अदालतले जारी गरेको वक्तव्यमा न्यायाधीश गिन्सबर्गको वासिङ्गटन डिसीस्थित घरमा निधन भएको हो। मेटिस्टाटिक प्याङ्क्रियाटिक क्यान्सरका कारण उनको निधन भएको हो ।

यसअघि क्यान्सरको उपचार गरेर निको भएकी उनमा यो वर्ष पुनः क्यान्सर देखिएपछि किमोथेरापी गरिँदै आएको थियो । न्यायाधीश रुथले दुई महिनाअघि वक्तव्य जारी गरेर क्यान्सरको उपचारका लागि किमोथेरापीमा रहेको बताएकी थिइन् ।

उपचारकै बिच पनि गिन्सबर्गले अदालतको काम कारवाही गर्दै आएकी थिइन् । सर्वोच्च अदालतमा २७ वर्षअघि न्यायाधीशका रुपमा नियुक्त भएकी गिन्सबर्ग सबैभन्दा बढी उमेरकी सक्रिय न्यायाधीश थिइन् ।

अमेरिकामा सर्वोच्च न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुले सेवा निवृत्त हुनका लागि इच्छा व्यक्त नगरेसम्म जिम्मेवारीमा रहन्छन् ।