पीएनमा विभागीय पुस्तकालय स्थापनाको प्रयास

628
views

श्रीभद्र पौडेल
हेमजा, ३ असोज । पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय स्थापनाको लागि प्रयास थालेको छ । विभागले त्यस सम्बन्धमा गृहकार्य समेत गरी करिव १ हजार बढी पुस्तक पनि संकलन गरिसकेको छ । शुक्रवारसम्म कुल ५५ सृष्टाले पुस्तक उपलब्ध गराएको विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेले जानकारी दिए।नेपालका विभिन्न स्थान लगायत अमेरिका र वेलायतबाट समेत सृष्टाले पुस्तक हस्तान्तरण गरिसकेको उनको भनाई छ ।

कार्यक्रम अन्र्तगत शुक्रवार प्रा.डा रविलाल अधिकारी, सह प्रा.डा.बाबुराम अधिकारी तथा सह.प्रा ईश्वरमणि अधिकारीले पुस्तक हस्तान्तरण गरेका छन् ।

गत साउन ८ गते यता आफू विभागीय प्रमुखमा नियुक्त भएको जानकारी दिर्दै प्रमुख न्यौपानेले त्यस बीचमा विभिन्न सेमिनार तथा पुस्तकालय स्थापना कार्यलाई महत्व दिर्दै आएको बताए ।

पुस्तकालय स्थापनासँगै विद्यार्थी र प्राध्यापक प्रत्यक्ष रुपमा विभागसँग जोडिने, पठन संस्कृतिको विकास हुने, नेपाली भाषा, साहित्य र संस्कृतिबारे अन्र्तक्रिया हुने विभागको विश्वास रहेको पनि प्रमुख न्यौपानेले बताए ।

विशेष गरी अनुसन्धान तहका विद्यार्थीलाई लक्षित गरी आफूहरुले पुस्तकालय स्थापना गरिरहेको विभागीय सदस्य समेत रहेका पुस्तकालय संयोजक उपप्राध्यापक निर्मल सापकोटाको भनाई छ।पुस्तकालयलाई गण्डकी प्रदेशकै उदाहरण्ीय बनाउने सोच पनि विभागले राखेको छ ।

यता विभागले संकलित पुस्तकलाई लेखक र पुस्तकको नाम तथा पुस्तक सङख्या समेतको विवरण राखी व्यवस्थित गर्ने प्रयास समेत थालेको छ।जसमा अन्य विभागीय सदस्यको समेत साथ दिइरहेका छन् ।

पुस्तकालय स्थापनासँगै अध्ययन, अध्यापन तथा अनुसन्धान कार्यमा थप सहजता आउने विभागको भनाई छ । जसका लागि प्राध्यापक, साहित्यकार, विभागीय सदस्य लगायतले पुस्तक उपलब्ध गराइरहेका छन् ।

त्यस्तै विभिन्न संस्थाबाट पत्रिका, जर्नल, स्मृतिग्रन्थ पनि विभागमा हस्तान्तरण भइरहेको छ ।पुस्तक संकलनको यो अभियान निरन्तर जारी रहने पनि विभागले भनेको छ ।