लोप हुँदै ढीकी, जाँतो, कोल, घरघरमा आधुनिक हलो र मिल

1526
views

गोपाल जिसी
पर्वत, १३, असोज । पर्वतमा ढिकी, जाँतो, कोल, पानी घट्टजस्ता कुटनी, पिसनीका साधनहरु लोप भएका छन् । स्थानीय सरकारको अनुदानमा आधुनिक मिलहरु भित्रिएपछि परम्परागत साधनहरु लोप भएका हुन ।

अनुदान तथा व्यक्तिगत रुपमा घरघरमा आधुनिक मिल खरीद गरेका स्थानीयले समयको सदुपयोग, आर्थिक बचतसँगै अत्यधिक सुविधा मिलेको बताउँछन् ।

पहाडी क्षेत्रमा दुई दशकअघि घण्टौं लगाएर पानीघट्ट, ढीकी जाँतोमा रात कटाएर कुटनी पिसनी गर्ने महिलाहरुलाई घरमै मिल भित्रिएपछि राहत मिलेको छ ।

पर्वतको फलेवास नगरपालिका वडा नं ३ का विष्णु रिजालले नगरपालिकाबाट अनुदानमा मिल पाएपछि
कुटनी पिसनीका साथै कृषिमा बढ्दो आधुनिकरणले काठे हलो समेत लोप हुने अवस्थामा पुगेको बताउँछन् ।

कुटनी पिसनीका साथै पछिल्लो समयमा हलो मोहीकाठ र लिड्को जस्ता काठे औजारहरु लोप हँदै गएका छन् रिजालले भने ‘पानीघट्ट, कोल, जाँतो ढीकी अव पूर्णरुपमा विसथापित भएको छ ।

कृषिमा आधुनिकीकरणसँगै गोरुद्वारा गरिने खेती प्रणालीमा ग्रामिण भेगमा मिनिटेलर र समथर ठाउँमा टेक्टरको प्रयोग हुन थालेपछि पुरानो औजारको विस्थापन र आधुनिकीकरणको विकास भएको हो ।

काममा छिटो छरितो र लगानीमा सर्व सुलभ भएपछि आधुनिक मेसिनहरु प्रयोगमा आउन थालेका हुन । मुख्यत स्थानीय सरकार गठनपछि किसान कृषि प्रणालीमा आधुनिकीकरण बढ्दै गएको हो ।

कृषि औजारीकरणमा आधुनिकता आएपछि खेतीप्रणालीमा समेत सुधार भएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माको भनाई छ ।

नगरप्रमुख शर्माले फलेवास नगरपालिकाले खेती प्रणालीमा आधुनीककरण गर्न किसान, गरीब, मजदुर, दलित तथा विपन्न परिवारलाई प्राथमिकतामा राखेर अनुदानमा कुटनी पिसनी मिल, मिनिटेलर अनुदानमा वितरण गरेपछि पुराना औजारको विस्थापनसँगै न्यून आय भएका परिवारको आयस्तरमा समेत विकास भएको बताए ।

उनले झण्डै दुइदशकअघि पहाडी भेगका अधिकाँस महिलाहरु रातभर ढीकी जाँतो र पानीघट्टको कष्ट भोगिरहेको अवस्थामा घरघरमा कुटनी पिसनी मिल र कृषि प्रणालीमा टेक्टर तथा मिनिटेलरको प्रयोग हुन थालेपछि पुरानो प्रक्रिया नै विस्थापन भएको बताए ।

उनले भने ‘अव कृषिमा व्यापक आधुनिकरणको आवश्यकता रहेको छ, किसानलाई घाँस काट्ने मेसिन, धान रोप्ने तथा धान काट्नेदेखी धान चुट्ने समेतका औजारहरु वितरण गरी पुराना काठे औजारहरुलाई संग्राहलयमा राख्दै कृषि प्रणालीमा उच्चतम् विकासको जरुरी छ ।’

अहिले पर्वतका दुई नगरपालिका कुश्मानगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका, पैयूँ गाउँपालिका, विहादी गाउँपालिका र महााशिला गाउँपालिकाले कृषिमा आधुनिकीकरण गर्न कृषी औजारहरु अनुदानमा वितरण गर्दै आएका छन् ।