नेपाली कांग्रेसले सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन गर्ने

321
views

काठमाडौं । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन गर्ने तयारी सुरु गरेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने प्रस्ताव असोज १९ गतेको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको हो ।

सह(महामन्त्री डा.प्रकाश शरण महतले भने, ‘सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम नै गरेन। भ्रष्टाचारमा लिप्त भयो। रोग र भोग दुवैले जनता मर्नुपरेको छ । केपी ओली नेतृत्वको सरकारलाई गुटबन्दी गर्न ठिक्क भएपछि सडक आन्दोलन गर्ने निर्णय भएको छ।’ कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ मा बस्ने तय भएको छ ।

उक्त बैठकमा सभापति देउवाले नै सामाजिक दूरी कायम गरी सडक आन्दोलन गर्ने प्रस्ताव गर्नेछन्। बुधबारको बैठकमा देउवा पक्षका नेताहरु मात्रै सहभागी भएको बताइएको छ ।

पदाधिकारीको बैठकले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि सहमति गरेको छ । कांग्रेस संसदीय दलले संसदको विशेष अधिवेशनको माग गर्नेछ। ‘यो सरकारले कोरोना नियन्त्रण, उपचार तथा जनताको जनजीविकाको विषयमा कुनै ध्यान दिएन,’ उनले भने, ‘सरकारलाई दवाव दिन सडक र सदन दुबै माध्यमबाट अगाडि बढ्नुपर्ने अनिवार्य भइसक्यो ।’ डा.महतले सरकारको भ्रष्टाचारलगायतका विषयमा केन्द्रदेखि जिल्लासम्म आन्दोलनका कार्यक्रमहरू केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने जानकारी दिए ।

‘कोरोना महामारीका बेला सरकारले काम गरोस् भनेर कांग्रेसले सधैँ सहयोग गर्‍यो,’ उनले भने, ‘सरकारले जनताको जीवन बचाउने भन्दा पनि सत्ताको खेलमा लाग्यो । जनता भोकै मरिरहेका छन् । कोरोनाले दिनदिनै सयौँको संख्यामा संक्रमित भइरहेका छन् । अब कांग्रेस चुप लागेर बस्दैन । सडक र सदनबाट सरकारलाई दवाव सिर्जना गर्छ ।’ पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल समूहले बुझाएको ज्ञापन पत्रका विषयमा पनि छलफल भएको छ ।

सो ज्ञापन पत्रमा उठेका विषयलाई असोज १९ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा उचित सम्बोधन गरिने महतले बताए ।