कोरोनाबाट रुपन्देही, मोरङ र सुनसरीमा थप ४ जना संक्रमतिको मृत्यु

308
views

काठमाडौं । कोरोनाबाट रुपन्देही, मोरङ र सुनसरीमा ४ जना संक्रमतिको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो। यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ। यससँगै अस्पतालमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ।

यस्तै पिलवस्तुको बुद्धभुमी नगरपालिका १ वीरपुरका ५० वर्षकी कोरोना संक्रमित महिलाका आज बिहान साढे ३ बजे भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो। उनमा थाइराइड, मधुमेह र निमोनियाको समस्या रहेको थियो।

असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले जानकारी दिए।

यस्तै मोरङ विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत जहदा गाउँपालिका –६ का ६३ बर्षीय पुरूषको मृत्यु भएको छ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सप्तरीको राजविराज नगरपालिका ४ का ३९ वर्षीय पुरुषको आज विहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या भएर गोल्डेन हस्पिटल बिराटनगर पुगेका उनलाई त्यहाँबाट प्रतिष्ठान रेफर गरिएको थियो।