विदेशवाट आउनेलाई स्वास्थ्य विवरण टिपाउन मोदी गाउँपालिकाको आग्रह

420
views

पर्वत, १५, असोज । पर्वतको मोदी गाउँपालिकाले विदेश वा अन्य जिल्लाबाट आउने स्थानीय नागरिकलाई अनिवार्य रुपमा स्वास्थ्य विवरण टिपाउन आग्रह गरेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले सुचना जारी गर्दै पालिकाको कोभिड– १९ एकाइमा सम्पर्क गरि नाम लगायत आवश्यक विवरण टिपाउन आग्रह गरेको हो । गाउँपालिकाले चाडवाडमा विदेश तथा संक्रमण बढि फैलिएका जिल्लाहरुवाट पालिकामा आउनेहरुको संख्या बढ्ने हुँदा गाउँगाउँमा संक्रमण फैलिन नदिनका लागि यस्तो आग्रह गरेको हो ।

विदेशबाट स्थलमार्ग हुदै गाउँपालिका प्रवेश गर्ने व्यक्तिलाई १४ दिन अनिवार्य पालिकाको क्वारेन्टाइन बस्नुपर्ने, क्वारेन्टिन अवधिमा कोभिड– १९ को शंकास्पद लक्षण तथा चिन्ह नदेखिएमा मात्र घर पठाईने जनाएको छ ।

त्यसैगरी ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट नेगेटिभ भएका व्यक्तिका हकमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरि अभिभावकको जिम्मा लगाएर घर पठाउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीले बताए ।

पिसिआर रिपोर्ट नभएका व्यक्तिलाइ होम क्वारेन्टाइन पठाउनका लागि व्यक्तिको घरमा कम्तिमा पनि बस्ने कोठा, पानी र चर्पीको व्यवस्था छुट्टै भएको हुनुपर्ने, व्यक्तिको घर नजिकैका छिमेकीमध्ये कम्तिमा ५ घरले व्यक्तिको घर होम क्वारेन्टाइन बस्नको लागि उपयुक्त रहेको भनि सहमति जनाउनुपर्ने व्यवस्था गरिएको क्षेत्रीले बताए ।

त्यसैगरी सम्बन्धित वडा कार्यालयबाट होम क्वारेन्टाइन बस्नको लागि घरको वातावरण उपयुक्त रहेको भनि अनिवार्य रुपमा सम्बन्धित वडा कार्यालयले सिफारिस गर्नुपर्ने भएको छ ।

गाउँपालिकाले बाहिरी जिल्लाबाट गाउँपालिका भित्रिने व्यक्तिका हकमा जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने व्यवस्था गरेको छ भने १४ दिन अनिवार्य रुपमा होम क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ ।