हुम्ला गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी

342
views

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

नाम्खा–६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ । लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो ।

हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र परिचर्चा भइरहेका बेला समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको हो ।

हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बीओपी स्थापना भइसकेको छ । हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ ।

हिल्सामा कम्पाउण्डसहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बसेको छ । समुद्री सहतहदेखि तीन हजार ६ सय मिटर उचाइमा रहेको सो पोष्टमा हिउँदमा पनि सशस्त्र प्रहरी त्यहीँ बस्ने बताइएको छ । यो नाकाबाट विशेषगरी जडीबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैधरूपमा ओसारपसार हुन नदिनका लागि स्थापना हुने लागेको सशस्त्र प्रहरी कार्यालय हुम्लाले बताएको छ ।