जलजला गाउँपालिकामा नगर प्रहरी भर्ना छनौट शुरु

1132
views

यज्ञ बहादुर थापा
पर्वत, १७, असोज । पर्वतको जलजला गाउँपालिकाले नगर प्रहरी भर्ना छनौट प्रक्रिया आजदेखि शुरु गरेको छ । गाउँपालिकाले आव्हान गरेको सूचना अनुसार विभिन्न पदमा दरखास्त आव्हान गरेका उम्मेदवारहरुको छनौट प्रक्रिया शुरु गरेको हो ।

गाउँपालिकाले आव्हान गरेको सूचना अनुसार नगर प्रहरी प्रमुख पदमा ८ जना, नगर प्रहरी जवानमा चार जना र नगर प्रहरी हवल्दारमा १५ जनाको आव्हान अनुसार २७ जनाले आवेदन बुझाएका थिए ।

जलजला गाउँपालिका कार्यालयले पहिलो पटक प्रकाशित विज्ञापन नं ४, ०७७/७८, ०७७/५/२९ को सूचना अनुसार नगर प्रहरी प्रमुख, नगर प्रहरी हवल्दार र नगरप्रहरी जवान पदका लागि दरखास्त आव्हानको सूचना जारी गरेको थियो ।

गाउँपालिकाले जारी गरेको सूचना अनुसार ०७७/५/२३ गते सम्म दरखास्त बुझाएका उम्मेदवारहरुले पेश गरेका कागजातहरुको मुल्याँकन गरी व्यक्तिगत चालचलन, शारिरीक तन्दुरुस्ती, योग्यताक्रम लगायत भर्ना छनौट प्रक्रियाको लागि ०७७ साल असोज १२ गतेको निर्णय अनुसार नगर प्रहरी भर्ना छनौट थालेको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिएका छन् ।

गाउँपालिकाले नेपालको संविधान २०७२ को अनुसुचि ८ मा टेकेर स्थानीय सरकार सञ्चालनको एकल अधिकार २०७४ को दफा ११ (क) अनुसार गाउँपालिकाले नगर प्रहरी ऐन २०७७ र नियुक्ति सम्बन्धी मापदण्ड पारीत गरी भर्ना छनौट थालेको शर्माले बताए ।

७५३ स्थानीय तह, ६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा पहिलोपटक जलाजला गाउँपालिकाले नेपाल प्रहरी पर्वतको समन्वयमा नगर प्रहरी भर्ना छनौट गरेको हो ।