ओली ‘प्रचण्ड’बीच भेटवार्ता

1050
views

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सु्रु भएको छ।

बालुवाटारमा बिहान करिब ११ ः ३० बजेदेखि दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने बताइएको छ।

नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भए पनि अझै अन्योलमै छ। नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन। प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे सकारात्मक छलफल भएको नेताहरूले बताएका थिए। तर, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विषय नै प्रवेश नगराएको नेताहरूले बताएका छन्।

प्रधानमन्त्री ओलीले सोमबारै तीन रिक्तसहित केही मन्त्री हेरफेरको तयारी गरेका थिए। ओलीनिकट एक नेताका अनुसार मन्त्री बनाउन खोजिएकाहरूले नै अनेक समस्या देखाएपछि मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डा सचिवालय बैठकको छलफलमा नल्याइएको हो। मन्त्री बनाउन खोजेकाहरूले नै समस्या देखाएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डाबाट पछि हटेको ती नेताको दाबी छ।

वामदेव गौतमको मनोनयन विवाद अदालतमा पुगेपछि मन्‍त्रिमण्डल पुनर्गठनसमेत त्यसले प्रभावित गरेको छ।