कृषि ज्ञान केन्द्र पर्वत र बागलुङको बजेट १७ करोड

833
views

महेन्द्र जिसी
पर्वत, २२, असोज । कृषि ज्ञान केन्द्र पर्वतले चालु वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा पर्वत र बागलुङ जिल्लामा गरी १७ करोड ३९ लाख ८ हजार रुपैयाँको बजेट सार्वजनीक गरेको हो ।

जसमा पूँजीगत तर्फ ४ करोड १६ लाख र चालुतर्फ १३ करोड २३ लाख ८ हजार रहेको छ । संघ सरकारको ससर्त तर्फ ४ करोड ८० लाख ५५ हजार र प्रदेश सरकारबाट चालु तर्फ ८ करोड ४२ लाख ५३ हजार रुपैयाँको सिलिङ प्राप्त भएको हो । कृषिको व्यवसायिकरण, यान्त्रिकरण र प्रविधिकरणमा जोड दिँदै चालु वर्ष कार्यालयले कार्यक्रम सञ्चालन गर्ने रेग्मीले बताए ।

कार्यालयले चालु वर्ष ७२ वटा साना व्यवसायिक कृषि फर्म स्थापना तथा विस्तार गर्ने, ५ वटा स्थानीय कृषि उपज विक्री केन्द्र स्थापना गर्ने, ३२ वटा ग्रीन हाउस निर्माण गर्ने, ७० वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गर्ने लक्ष्य राखेको छ ।

यस्तै १० वटा आलु पकेट क्षेत्र विस्तार गर्ने, ५ वटा पकेटमा रैथानेवाली क्षेत्र बनाउने, ३५ ठाउँमा उन्नत कृषि प्रविधि प्रदर्शन स्थल बनाउने र २ वटा मुल्य श्रखंलामा आधारित परियोजना सञ्चालन गर्ने जनाएको छ । ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले गएको वर्ष २५ करोड बजेट रहेकोमा चालु वर्षमा ८ करोड बजेट घटेर १७ करोड आएको बताए ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रामकृष्ण आर्यालले साना तथा आधुनिक सिँचाई बिस्तार, च्याउ घर निर्माण, कृषि यन्त्र उपकरण खरिद, पुस्तकालय व्यवस्थापन समेतको लक्ष्य राखेको छ । १० हेक्टर जमिनमा बीउ उत्पादक गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा बीऊ तथा सामाग्री सहयोग गर्ने, दुईवटा फलफुल नर्सरी तथा स्रोत केन्द्र स्थापना गर्ने, मकै, भटमास, चैतेधान खेती बिस्तार गर्दै जाने, क्षेत्रफलको आधारमा तरकारी खेती गर्नेलाई प्रोत्साहन गर्ने, बालीको बीमा शुल्कमा २५ प्रतिशत अनुदान दिने तय भएको जानकारी दिए ।

यस्तै कार्यालयले घरघरमा प्रांगारिक मल उत्पादन कार्यक्रम सञ्चालनको तयारी गरेको छ । कार्यालयमा करेसाबारी तथा बगैँचा सहयोग कार्यक्रम, कृषक राहात तथा मागमा आधारित सहयोग कार्यक्रम तथा विभिन्न खाले प्राविधिक तालिम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

राज्यका हरेक निकायले बजेट तथा कार्यक्रमलाई पारदर्शि बनाउन समय समयमा सार्वजनीक गर्नु पर्ने सहभागिहरुले बक्ताहरुले बताएका हुन । जिल्ला स्थीत सेवा दायक निकाय र तथा स्थानीय तहहरुले पनि आफना कार्यक्रमहरको सार्वजनीकीकरण गर्नुपर्ने नेपाली काँग्रेस पर्वत सभापति खिम प्रासद भुसालले बताए ।