विना निष्कर्षमा टुंगियो सरकारी टोली र डा. केसी पक्षबीचको वार्ता

733
views

काठमाडौँ, २४, असोज । सत्याग्रही डा. गोविन्द केसीले उठाएका मागहरुको समर्थन दिनप्रतिदिन बढ्दै गएको छ । आम नागरिकहरुले गोविन्द केसीका मागहरु जायज भएको ठहर गरिरहेका बेला सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीचको शुक्रबारको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

सरकारी पक्ष केसीले उठाएका मागहरु पुरा गर्ने पक्षमा देखिएको छैन भने केसी पक्षले पनि आफ्नो अडान कायमै राखेको छ । शुक्रवार दुवै आ–आफ्ना अडानमा रहेपछि वार्ता निष्कर्षमा पुग्न सकेन ।

डा. केसीका तर्फबाट वार्ता समितिका संयोजक डा. जीवन क्षत्रीले सरकारले वार्ताका नाममा अल्झाउन र मागहरुलाई वेवास्था गर्न खोजेको आरोप लगाउँदै भने ‘वार्ता मिलेन’, सरकार पक्ष हिजोको विन्दुबाट पछाडि हट्यो । वार्ताको नाममा अल्झाउन आट्यो ।’

दुई पक्षबीचको वार्ता राति ९ बजेपछि सुरु भएको थियो । सरकारले दिनभर वार्ताको बेवास्ता गरेपछि केसी पक्षले शुक्रबार राति १० बजे पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ सार्वजनिक गर्ने बताएको थियो । तर सरकार पक्षले एक घण्टा अगाडि छलफलका लागि बोलाएको थियो ।

सरकारी डा. केसी पक्षकाबीच वार्ताको बाटो नखुलिरहँदा केसीको अनसनप्रति पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजकडा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ समेतले ऐक्यवद्धता जनाएका छन् । केसीले उठाएका मागप्रति नागरिक स्तरबाट समेत समर्थन बढिरहेका बेला भट्टराई, किरणको एब्येवद्धतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।