७० प्रतिशतमा मानसिक स्वास्थ्यमा थप लगानी अत्यावश्यक

175
views

नुवाकोट, २५, असोज । मानवीय सेवा कार्यहरु गर्दा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरुले जोड दिएका छन् ।

मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीबाट आयोजित अन्तर्राष्ट्रिय स्तरको छलफल कार्यक्रममा म्यानमारमा कार्यरत डा. युवराज अधिकारीले नेपालमा कोभिड प्रतिकार्यमा अग्रपंतिमा संलग्न ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकहरुमा कुनै न कुनै प्रकारका मानसिक र मनोवैज्ञानिक समस्या देखिएको आफ्नो अध्ययनले देखाएको बताउनुभयो । उहाँले भन्नुभयो “कोभिड पछि मानसिक स्वास्थ्य समस्या बढ्दो छ तर त्यस क्षेत्रमा लगानी आधा घटेकोले नीति निर्माताहरु अत्यन्तै गम्भीर हुनुपर्ने अवस्था छ ।”

नेपालमा हरेक दिन औषतमा १५ जनाले आत्महत्या गर्ने गरेको र गएको वर्षमा करिव छ हजार तीनसयले आत्महत्या गरेको आँकडा प्रस्तुत गर्दै नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले अन्तर्राष्ट्रिय रेडक्रस अभियान र नेपाल रेडक्रसले मानसिक स्वास्थ्यमा गरेका कार्यक्रमको बारेमा प्रस्तुतीकरण गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस, साझेदार रेडक्रस सोसाइटीहरु, आइसीआरसी र रेडक्रसको महासंघका प्रतिनिधिहरु सहित ८५ जनाले भाग लिनुभएको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । कोभिड पश्चात नेपाल रेडक्रसका मनोसामाजिक सहयोग तथा निशुल्क हटलाईन ११३० मार्फत् सेवा लिनुभएका तारा गुरुङ, देवी रेग्मीले आफूलाई परेको समस्या र समाधानको बाटो देखाइदिएकोमा खुशी व्यक्त गर्दै अनुभव आदान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा रेडक्रसको एशिया प्रसान्त क्षेत्रीय कार्यालयका विज्ञ एलिजा चेइङ (भ्ष्शिब ऋजभगलन) ले एशिया क्षेत्रका मुलुकका रेडक्रस सोसाइटीहरुले मानवीय सहायता क्षेत्रमा मानसिक स्वास्थ्यमा गतिविधि वढाउदै लगेको तर त्यो पर्याप्त नभएको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै नेरेसोका महामन्त्रीले प्रकृतिसँगको सामिप्यता घट्दै गएको र हेयभाव, भेदभाव बढ्दै गएको अहिलेको सन्दर्भमा सबै सेवाकार्य गर्दा शुरक्षालाई उच्च प्राथमिकता राख्न, कार्यबातावरण राम्रो बनाउन र मानसिक स्वास्थ्यलाई सबै खालका कार्यक्रममा एकीकृत गर्न अनुरोध गर्नुभयो ।

कोशिस नेपालका मातृका देवकोटाले मानसिक स्वास्थ्य खाना, पानी जस्तै अत्यावश्यक सेवा भएको र विलासिताको रुपमा नहेर्न अनुरोध गर्नुभयो । विभिन्न सातवटा मुलुकमा गरिएको सर्वेक्षणको आधारमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले हिजो प्रकाशित प्रतिवेदनमा हरेक दुई जनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या देखिएको जनाएको कार्यक्रम सञ्चालक शुशिल रेग्मीले बताउनुभयो ।

नेपाल रेडक्रसले विगतको शसस्त्र संघर्ष, भुकम्प प्रतिकार्यका गतिविधिहरु र अहिलेको कोभिड प्रतिकार्यमा मनोसामाजिक सहयोगलाई कार्यक्रमहरुको एउटा अंग बनाएको र यसलाई बढाउनुपर्ने आवश्यकता कार्यक्रममा सहभागीहरुले औँल्याएका थिए ।