बाबुरामसँग झोक्कियो कांग्रेस : अबौं खाएको प्रमाण देखाउन चेतावनी

586
views

काठमाडौं, २५, असोज । केहीदिनअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा भएको एक कार्यक्रममा बुढीगण्डकी जलविद्युत् परियोजनामा ओली, दाहाल र देउवाले अर्बौ खाएको प्रमाण दिनसक्छु भन्ने विषयमा प्रतिपक्षि दल काँग्रेसले प्रमाण देखाउन चेतावनी दिएको छ ।

प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले अर्बौं रकम कमिसन खाएको भन्दै भट्टराई आँफुले प्रमाण दिनसक्ने दाबी गरेका थिए ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको यो अभिव्यक्तिपछि काँग्रेस रुष्ट बनेको छ ।

आइतबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी अनुसन्धानको माग गरेको छन् । विज्ञप्तीमा भट्टराईले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेतले अर्बौं कमिसन लिएको भनी दिएको आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती दिदै अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियार समेतलाई अपील गरेको छ ।

सो विज्ञप्तिमा भनिएको छ – वर्तमान सरकार बनेपछि बुढिगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति नेपाली कांग्रेसले सार्वजनिक रूपमा निरन्तर रुपले कडा विरोध गर्दै आएको सर्वविदितै छ ।

०७५ असोज २१ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले बुढिगण्डकी परियोजना प्रकरण बारे गरेको निर्णय नं ४ मा भनिएको छ—

निर्णय नं ४, (क) बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले गरेको थियो । त्यसका लागि नेपाली जनताको लगानी सहभागिताको प्रकृया समेत आरम्भ भई अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय तर्फ अघि बढ्नुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ ।

निर्णय नं ४, (ख) कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृया हुन्छन् र छन् । तर कुनै प्रकृया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ ।

निर्णय नं ४, (ग) नेपाली कांग्रेसको यो बैठक बुढी गण्डकी परियोजनाका बारेमा सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्रप्रति आम जनसमुदायमा सुसूचित गर्दै सजग रहन अपील गर्दछ ।

निर्णय नं ४, (घ) स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनु पर्छ भन्ने नेपाली कांग्रेसको माग रहेको छ ।

विज्ञप्तीमा राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुठ र अर्थहिन आरोपले, हामी नम्र भाषामा अपील गर्दछौं तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित ब्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग