सडक कुकुरहरुको बन्ध्याकरण सुरु

862
views

पोखरा, २६, असोज । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट नेपाल) ले पोखरामा रहेका सडक सामुदायिक कुकुरहरुको बन्ध्याकरणको कार्य पुन सुचारु गरेको छ । जस अन्तर्गत विशेषगरी केटि कुकुरहरुलाइ प्राथमिकतामा राखी दशैँ अघि सम्म कम्तिमा ३५ वोटा कुकुरहरु बन्ध्याकरण गरिने भएको छ ।

हार्टले पोखरामा रहेका सडक सामुदायिक कुकुरहरुलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएको छ । गएको वर्ष यसै खोप लगाउने क्रममा कोविड १९ महामारीको कारण केहि वडा छुटेका थिए । यिनै वडामा गएको हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिनुभयो ।

सो क्रममा बन्ध्याकरण नभएका केटि कुकुरहरुको संख्या धेरै देखिएको हुँदा यो कार्य सुरु गरिएको पनि शर्माले जानकारी दिनुभयो । यसका लागि ल्याइने कुकुरहरु मुख्यतः वडा नम्बर १५ र १७ बाट रहने जनाइएको छ ।

रेबिज एउटा प्राणघातक सरुवा रोग हो जुन विषेशगरि कुकुरको टोकाईबाट सर्ने गर्दछ । विश्वमा हरेक वर्ष ५९,००० मानिसहरुको यसै कारण मृत्यु हुने गरेको छ । नेपालमा पनि बर्सेनि २०० जना मानिस र धेरै चौपाया यसको कारण मर्ने गरेका छन् ।

कुकुरहरुको संख्या कम गरी रेबिज नियन्त्रण गर्नको निम्ति पहिले कुकुरहरुलाई बिष खुवाई मार्ने चलन रहेकोमा अहिले यसरी कुकुरको हत्या गर्नेलाई कानुन बमोजिम पाँच हजार जरिवाना सहित कैद हुने गरको छ ।

तसर्थ कुकुर बिरालोको संख्यालाई मानविय रुपमा कम गर्नको लागि बन्ध्याकरण नै एक उपाय रहेको छ । हार्ट नेपालले विगत १० वर्ष देखि पोखरा, भरतपुर लगाएत नेपालका विभिन्न ठाउँहरुमा पुगेर २२,००० भन्दा धेरै कुकुरहरुको बन्ध्याकरण गरिसकेको छ । यति मात्र नभएर हार्टले ३५,००० भन्दा धेरै कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ ।