कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेशपछि ओली र प्रचण्डबीच भेटवार्ता

543
views

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच सोमबार बिहान भेटवार्ता भएको हो। नेकपाकै सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि ओली र प्रचण्डबीच भेटवार्ता भएको हो।

भेटवार्ताको क्रममा प्रचण्डले कर्णालीमा उत्पन्न विवाद समाधान गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। ‘कर्णालीमा भएको घटनाले पार्टी एकताको मर्म विपरीतको निर्णय भयो। त्यसैले तपाईले यो तत्काल मिलाउनुहोस्’ अध्यक्ष प्रचण्डको भनाईलाई उद्धृत गर्दै स्रोतले भन्यो। तर, प्रधानमन्त्री ओली प्रचण्डको भनाइप्रति जिम्मेवार नबनेको स्रोतको दाबी छ।

‘अध्यक्ष दाहालले कर्णालीमा देखिएको समस्या समाधान गर्नुहोस् भन्दा प्रधानमन्त्री ओलीले टालटुले कुरा गरिराख्नुभयो’ स्रोतले भन्यो। प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई बोलाएर छलफल गरेका थिए। कर्णाली प्रदेशका मुख्यमन्त्री शाही तत्कालीन माओवादी केन्द्रका हुन्।

उपसभामुखसहित जम्मा ३३ जना नेकपाका सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध सत्तापक्षकै १८ जनाले हस्ताक्षर गरेका छन्। मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेकपाका कर्णाली प्रदेश सह इन्चार्जसमेत रहेका र मुख्यमन्त्रीको दाबेदार यमलाल कँडेलको नेतृत्वमा दर्ता गरिएको छ।

तत्कालीन माओवादीबाट उपसभामुख भएकी पुष्पा घर्ती विष्टले पनि प्रस्तावमा हस्ताक्षर गरेकी छन्। बहालवाला मन्त्रीबाहेक तत्कालीन एमालेका सबै प्रदेशसभा सदस्य र तत्कालीन माओवादीबाट उपसभामुख पुष्प घर्ती विष्ट, ठम्मर विष्ट र धर्मराज रेग्मीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।