कोरोना जोखिम कम गराउन मास्क वितरण

1058
views

दमौली, ३०, असोज । कोरोना संक्रमणको दर बढ्दै गएको चाडवाड नजिकिदै गर्दा प्रहरी र व्यवसायीले नमस्कार गर्दै मास्क वितरण थालेका छन् ।

दमौलीको व्यास नगरपालिकामा निरन्तर संक्रमित बढिरहेका बेला व्यापार व्यवसाय क्षेत्र र सडकमा हिंडडुल गर्नेमध्ये कमैले मात्र सचेतन अपनाएको भन्दै मास्क र स्यानिटाइजर वितरण थालिएको ट्राफिक प्रमुख रेशम रानाभाटले बताए ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको सहकार्यमा थालिएको अभियानअन्र्तगत प्रहरी उपरीक्षक अरुण पौडेल तथा एकाई सभापति राजकुमार श्रेष्ठ आफैं मास्क तथा स्यानिटाइजर वितरण गर्दै हिंडेका थिए ।

पसलभित्र नै प्रवेश गरेर मास्क तथा स्यानिटाइजर नलगाउनेका लागि वितरण गरिएको थियो । पैदलयात्रु तथा सवारी साधन सञ्चालन गर्नेलाई पनि प्रहरी र व्यवसायीले मास्क वितरण गरेका थिए ।

‘हामीले मास्क नलगाउनेलाई जरिवाना पनि गरिरहेका छौं,’ प्रहरी उपरीक्षक पौडेलले भने,‘यसरी अभियानकै रुपमा हिंड्दा मानिस सचेत होलान् भन्ने आशा छ ।’

पसलमा व्यवसायीले मास्क नलगाएको गुनासो आएको भन्दै एकाई सभापति श्रेष्ठले पसलभित्रकालाई पनि मास्क र स्यानिटाइजर वितरण गर्दै आफ्नो र ग्राहकको सुरक्षाका लागि पनि नियम पालना गरिदिन आग्रह गरे ।