कोरोना संक्रमित महिलाको मृत्युले दिएको सन्देश : आफन्तले मलामी दिन पाएनन् !

1470
views

पर्वत, ३, कार्तिक । पर्वतमा कोरोना संक्रमित पहिलो मृतक महिलाको शव अन्त्येष्टिमा आफन्तले मलामी दिन पाएनन् । चारजना पिपिइ टिमले मृतक महिलालाई एउटा गाडीमा व्यवस्थापन गरिरहेको थियो । नेपाली सेना र नेपाल प्रहरीको सानो समुहको सुरक्षामा उनलाई अन्त्येष्टिको तयारी गरिएको थियो ।

मृतक महिलाको शव व्यस्थापन तथा अन्त्येष्टिको क्रममा उपस्थित आफन्तहरु सामाजिक दुरीमा भावुक बनिरहेका थिए । मृतक महिलाका परिवार समेत अन्त्येष्टि स्थानसम्म जान पाएनन् ।

शव स्थानदेखि केही टाढा शव व्यवस्थापनको फोटो कैद गरिरहेका ईष्टमित्र, शुभचिन्तकहरु कारुणिक दृश्यमा भावविह्वल बनिरहेका थिए । प्रायका आँखामा आँशु छचल्किइरहेको देखिन्थ्यो । आफन्तहरु गहिरो शोकमा डुबेका छन् ।

सामाजिक सञ्जालमा कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुँदैन भन्नेहरुका लागि पनि संक्रमितहरुको मृत्युले फगत सावित गरिरहेको छ । कोरोना भाइरस कोभिड– १९ लाई केही होईन भन्नेहरुका लागि समेत थप सचेत बनाइरहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनालाई फगत ठानिरहेकाहरुलाई पनि सचेत र स्वास्थ्य सजगता अपनाउन चुनौति दिइरहेको छ । कोभिड–१९ ले आम मानिसमा ल्याएको त्रास, तरंग र मृत्युपछिको संक्रमित पुष्टिले सामाजिक सञ्जालमा कोरोनाबाट मृत्यु हुँदैन भन्नेहरुलाई समेत प्रश्न गरिरहेको छ ।

पुरानो घर बागलुङ नगरपालिका वडा नं. १३ भई पर्वत कुश्मा नगरपालिका वडा नं ५ मा रहेको आफ्नै घरको आईसोलेसनमा रहेकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्युले पनि थप स्वास्थ्य सजगता अपनाउनुपर्ने सन्देश दिईरहेको छ ।

लामो समयदेखि दीर्घ रोगी रहेकी उनमा मधुमेह लगायत समस्या रहेको र संक्रमण पुष्टि भएकोले उनको मृत्यु मधुमेह र कोरोनाको संयोग बन्न पुगेको छ । यसबाट दीर्घ विरामीहरुले थप स्वास्थ्य सचेतसँगै आत्मविश्वास बढाउनुपर्छ भन्ने देखाएको छ ।

मृतक महिलाको शव कुश्माबजार नजिकै जिल्ला कारगार भन्दा तल मोदी खोलाको किनारमा अन्त्येष्टि गरिएको सिसीएमसी पर्वतले जनाएको छ ।

बिरामी भई उपचारका लागि गत असोज २९ मा उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी र उनमा कोरोनाको लक्षण समेत देखिएपछि अस्पतालले पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको जनाइएको छ । मृतक महिलाको कोरोना परीक्षणका क्रममा कात्तिक २ गते रिपोर्ट पोजिटिभ आएको थियो ।

रिर्पोट पोजेटिभ आएकी उनी आईतबार अस्पतालबाट होम आइसोलेसनमा बस्ने गरी घरमा आएकी थिर्ईन् । आईसोलेसनमा रहेकी उनको शव सिसीएमसी पर्वतको निर्णय अनुसार नेपाली सेनाको केवल जंग गुल्मले व्यवस्थापन तथा अन्त्येष्टि गरेको थियो ।

यस दुखद घडीमा मृतकप्रति श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।