महासंघभित्रको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्छः शेखर गोल्छा

976
views

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्रको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन्।

महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएकोप्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्ने बताएका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले उम्मेदवारी घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनैपर्ने बताएका हुन्।

उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ। राजनीतिको क्यान्सर। अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ। जो निर्वाचित व्यक्तित्वहरु हुनुहुन्छ उनीहरुले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छु, उनले भने, अरु कोही व्यक्ति जो निर्वाचित छैनन उनीहरुको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिदैनौँ। किन भने यो सबै विकृति हो भन्ने मलाई लाग्छ।’

सबै पूर्व अध्यक्षहरूसँग सल्लाह र सुझाव लिने तर उनीहरुको राजनीतिमा नपर्ने गोल्छाले बताउनुभयो। निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफुले नेतृत्व गर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने विश्वास समेत व्यक्त गरेका छन्।

आफुले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको स्पस्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुने समेत बताए।

उनले महासंघलाई समस्याको समाधान गर्ने निकायको रुपमा मात्रै सीमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

वरिष्ठ उपाध्यक्ष गोल्छाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यासी किशोर प्रधानको समूहलाई साथ दिएका छन्।