सातौं अधिवेशन तथा आठौं साधारणसभा सम्पन्न

409
views

पोखरा, २२ कात्तिक । पोखरा महानगरपालिका वडा नं ३३ स्थित खुर्वादी हुँडिकोट लिफ्टिङ खानेपानी सरसफाई तथा सिंचाई उपभोक्ता समितिको सातौं अधिवेशन तथा आठौं साधारणसभा एक कार्यक्रमकाबीच आज सम्पन्न भएको छ ।

साधारणसभामा समितिका अध्यक्ष चेतबहादुर महतले खानेपानीको चरम समस्या भोगिरहेको अवस्थामा सबैको साथ र सहयोगमा लिफ्टिङ प्रविधिका माध्यमबाट खानेपानी सुविधा सञ्चालनमा ल्याइएको स्मरण गर्दै यसको दीर्घकालिन व्यवस्थापनमा सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । २०६५ देखि सञ्चालनमा आएको खानेपानी योजनाबाट यहाँका १२७ घर परिवार प्रत्यक्ष लाभान्वित बनेको उहाँले बताउनुभयो ।

समितिका सचिव सदनकुमार महतले खानेपानी योजनालाई प्रभावकारी व्यवस्थापनका लागि गरिएका प्रयासबारे जानकारी गराउँदै सबैको एकतावद्ध प्रयासबाट मात्रै हरेक सामाजिक कामले सफलता हासिल गर्ने उल्लेख गर्नुभयो । साधारणसभाले सचिव महतद्वारा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२÷०७३ देखि २०७६/०७७ सम्मको आर्थिक प्रतिवेदनका साथै सचिवको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा स्थानीय युवा रविन पौडेल, डम्बरबहादुर विश्वकर्मा, कमलप्रसाद पौडेल लगायतले खानेपानीको समुचित व्यवस्थापन लगायतका विषयमा आ आफ्ना सुझाव दिनुभयो ।

यसैबीच समितिको सातौं अधिवेशनले कृष्ण पौडेल(दामोदर) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा डोलराज पौडेल, सचिवमा सीता महत, कोषाध्यक्षमा विकास महत र सदस्यहरूमा रविन पौडेल, रामचन्द्र पौडेल, मनबहादुर भुजेल, डम्बरबहादुर विश्वकर्मा र फुलमाया परियार रहनुभएको छ ।

कार्यसमिति चयनका लागि वासुदेव पौडेलको संयोजकत्वमा लोकबहादुर महत र कमलप्रसाद पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक पौडेलले अविरको टीका लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

निवर्तमान समितिका अध्यक्ष चेतबहादुर महतले नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुधकामना व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष कृष्ण पौडेल (दामोदर) ले सबैको साथ र सहयोगमा खानेपानी सेवालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा निर्वतमान समितिका सचिव सदनकुमार महतले नवनिर्वाचित सचिव सीता महतलाई बैठक पुस्तिका हस्तान्तरण गर्नुभयो ।