सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

404
views

काठमाडौं २५, कार्तिक । सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो ।

अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय सच्याउन दबाब परेको थियो। मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार निजी अस्पतालबारे भने केही निर्णय गरिएको छैन् ।

बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको छ ।